काठमाडौं, भोजपुरमा चिराइतोको मूल्य घटेपछि किसान तथा व्यवसायी चिन्तित बनेका छन्। गत वर्षको तुलनामा यस वर्ष चिराइतोको मूल्य प्रतिमन (४० केजी) पाँच हजारदेखि १० हजार रुपैयाँसम्म घटेको छ।
टेम्केमैयुङ गाउँपालिका–१ तिम्माका किसान तथा व्यवसायी उपेन्द्र राउतका अनुसार अहिले चिराइतो प्रतिमन २० हजार रुपैयाँमा कारोबार भइरहेको छ। गत वर्ष यही समयमा २५ हजारदेखि ३० हजार रुपैयाँसम्ममा बिक्री हुने गरेको थियो।
यस वर्ष उत्पादन भने बढेको छ। तिम्मा क्षेत्रमा मात्रै करिब ५०० मन चिराइतो उत्पादन भएको छ। राउतले हालसम्म करिब २०० मन चिराइतो संकलन गरिसकेका छन् भने उनको घरमा बिक्रीका लागि थप १० मन चिराइतो रहेको छ।
चीनतर्फको नाका बन्द हुँदा निकासी तथा बजार कारोबार प्रभावित भएकाले मूल्य घटेको राउतले बताए। उत्पादन बढे पनि उचित मूल्य नपाउँदा किसानले अपेक्षित आम्दानी गर्न सकेका छैनन्।
स्थानीय किसानले चिराइतोको उचित मूल्य सुनिश्चित गर्न बजार व्यवस्थापन र निकासी सहज बनाउनुपर्ने माग गरेका छन्। भोजपुरका पहाडी तथा उच्च पहाडी क्षेत्रका किसानका लागि चिराइतो आम्दानीको महत्वपूर्ण स्रोत रहँदै आएको छ।


NPL Special
NPL Special
NPL Special
NPL Special