काठमाडौं, प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) दुईदिने औपचारिक भ्रमणका लागि आज भारतको राजधानी नयाँदिल्ली जाँदैछन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा हुन लागेको यो प्रधानमन्त्री शाहको पदभार सम्हालेपछिको पहिलो विदेश भ्रमण हो।
परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री शाह आज दिउँसो १ः४५ बजे नेपाल वायुसेवाको नियमित उडानबाट भारत प्रस्थान गर्नेछन्। ३४ सदस्यीय सरकारी भ्रमण टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाललगायत उच्चपदस्थ अधिकारी, व्यवसायी र पत्रकार सहभागी हुनेछन्। निजी क्षेत्रबाट ५२ सदस्यीय व्यवसायी टोली पनि आफ्नै खर्चमा भ्रमणमा जानेछ।
नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री शाहलाई भारतका उद्योग तथा वाणिज्य राज्यमन्त्री जितिन प्रसादले स्वागत गर्ने कार्यक्रम छ। त्यसपछि होटल ताजमहलमा भारतीय विदेशमन्त्री एस जयशंकरसँग शिष्टाचार भेट हुनेछ।
भ्रमणको दोस्रो दिन मंसिर ७ गते प्रधानमन्त्री शाहले राजघाटमा महात्मा गान्धीप्रति श्रद्धाञ्जली अर्पण गर्नेछन्। त्यसपछि हैदरावाद हाउसमा भारतीय समकक्षी मोदीसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता हुनेछ। वार्तामा व्यापार, पारवहन, ऊर्जा, लगानी, पूर्वाधार र सम्पर्क सञ्जाल विस्तारलगायत विषयमा छलफल हुने कार्यक्रम छ।
प्रधानमन्त्री शाहले भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग पनि भेट गर्नेछन्। त्यसपछि उनी भोलि नै स्वदेश फर्किनेछन्।


NPL Special
NPL Special
NPL Special
NPL Special