काठमाडौं, संयुक्त राष्ट्रसङ्घीय जलवायु सम्मेलन (कोप–३१) को अध्यक्षताले आइतबार सार्वजनिक गरेको नयाँ सम्झौता प्रस्तावमा जीवाश्म इन्धनको नामै उल्लेख नगरेपछि विवाद चर्किएको छ। टर्की र अस्ट्रेलियाले संयुक्त रूपमा तयार पारेको प्रस्तावमा कोइला, तेल र ग्यासको प्रयोग अन्त्य गर्ने स्पष्ट प्रतिबद्धता समेटिएको छैन।
प्रस्तावमा सन् २०२३ को विश्वव्यापी सम्झौताअनुसार जीवाश्म इन्धनबाट टाढिने लक्ष्यलाई भने उल्लेख गरिएको छ। साथै, सन् २०३५ सम्म कुल ऊर्जा खपतमा विद्युत्को हिस्सा ३५ प्रतिशत पुर्याउने र स्वच्छ ऊर्जाको विस्तार गर्ने लक्ष्य राखिएको छ।
कार्बन उत्सर्जन नियन्त्रणका लागि कार्बन सङ्कलन तथा भण्डारण प्रविधिको विस्तार गर्ने प्रस्तावले पनि विवाद निम्त्याएको छ। उक्त प्रविधिलाई जीवाश्म इन्धन उद्योगले समर्थन गरे पनि प्रभावकारिता र लागतका विषयमा आलोचना हुँदै आएको छ।
त्यस्तै, साउदी अरब, भारत र केन्याले जलवायु परिवर्तनसम्बन्धी अन्तरसरकारी प्यानल (आईपीसीसी) का आगामी प्रतिवेदन प्रकाशन ढिलाइ गर्न खोजेपछि विवाद बढेको छ। युरोप, अफ्रिका र प्रशान्त क्षेत्रका दर्जनौँ देशले सन् २०२८ को विश्वव्यापी समीक्षा अघि प्रतिवेदन सार्वजनिक गर्न माग गरेका छन्।
पेरिस सम्झौताले निर्धारण गरेको तापक्रम वृद्धिको सीमा १.५ डिग्री सेल्सियस नाघ्ने जोखिमप्रति प्रस्तावमा गहिरो चिन्ता व्यक्त गरिएको छ। तर धनी राष्ट्रले विकासशील देशलाई जलवायु अनुकूलनका लागि सहयोग गर्ने प्रतिबद्धता पूरा नगरेको भन्दै अर्को विवाद पनि कायम छ। जलवायु अनुकूलनका लागि प्रस्तावित १२० अर्ब डलरको लक्ष्य हटाइएपछि विकासशील राष्ट्र असन्तुष्ट बनेका छन्।
करिब २०० देशको सहमतिमा पारित हुनुपर्ने प्रस्तावमा यी विषयले सहमति जुटाउन चुनौती थपेका छन्।


NPL Special
NPL Special
NPL Special
NPL Special