नेपाली तेक्वान्दो खेलाडी आदिश खड्काले अस्ट्रेलियाको गोल्ड कोस्टमा आयोजित २०२५ गोल्ड कोस्ट ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा आइतबार स्वर्ण पदक जितेका छन्।
गोल्ड कोस्टको करारा स्टेडियममा आयोजित प्रतिस्पर्धामा आदिशले पुरुष सिंगल पुम्से अन्तर्गत १७ वर्ष मुनिको उमेर समूहमा प्रतिस्पर्धा गर्दै ६.२३ अंक प्राप्त गरेर स्वर्ण पदक जिते।
यो आदिशले दस दिनभित्र जितेको दोस्रो अन्तर्राष्ट्रिय पदक हो। यसअघि उनले जापानको ओसाकामा अप्रिल २५ देखि २७ सम्म भएको २१औं WATA ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा सोही विधामा रजत पदक जितेका थिए।
नामी इन्टरनेशनल कलेजमा कक्षा ११ मा अध्ययनरत आदिश तेक्वान्दोमा थर्ड डान (कालो पेटी) होल्डर हुन्।


