काठमाडौं, सरकारले भोटेकोशी बाढीबाट प्रभावित बालबालिकाको दीर्घकालीन संरक्षण, हेरचाह तथा स्याहार योजना रसुवाको आमाछोदिङ्मो गाउँपालिका–५ गोल्जुङबेसीबाट सुरु गरेको छ ।
बाढीमा श्रीमान् गुमाएकी २९ वर्षीया सुत्केरी र उहाँकी नवजात छोरीलाई आर्थिक सहायता प्रदान गर्दै बिहीबारदेखि योजना सुरु भएको हो । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता वादीले पीडित महिलाको बैंक खातामा पहिलो महिनाको रु १७ हजार ५०० दाखिला गरिन ।
बाढीमा आमाबुवा गुमाएका, अभिभावक बेपत्ता भएका तथा विशेष संरक्षणको आवश्यकता रहेका बालबालिकालाई पनि दीर्घकालीन संरक्षण र भरणपोषणको व्यवस्था गरिने मन्त्री वादीले बताइन । योजनाअन्तर्गत ती बालिकाले १८ वर्ष उमेर पूरा नगरेसम्म आमासँगै परिवारमा रहेर मासिक रु १७ हजार ५०० सहायता पाउनेछिन् ।
उनले विपद् प्रभावित बालबालिकालाई सहयोग गर्ने नाममा कुनै पनि व्यक्ति वा संस्थाले आफूखुसी अन्यत्र लैजान नपाउने स्पष्ट पारिन । स्थानीय तहको सिफारिस तथा राष्ट्रिय बाल अधिकार परिषद्को समन्वय र सहमतिबिना बालबालिकालाई संस्थागत संरक्षणका नाममा बालगृह वा अस्थायी संरक्षण केन्द्रमा लैजान नपाइने छैन मन्त्रीको भनाइ थियो ।
मन्त्री वादीका अनुसार विभिन्न साझेदार संस्थामार्फत हालसम्म ८१० जना बालबालिकाको दीर्घकालीन स्याहारका लागि सहयोग उपलब्ध गराउने व्यवस्था मिलाइएको छ । जसअनुसार एमआइटिजीएफमार्फत १५०, एसओएस चिल्ड्रेन भिलेजमार्फत ६५० र प्रविना फाउन्डेसनमार्फत १० जना बालबालिकालाई सहयोग गरिनेछ । मन्त्रालयको बालकोषमा रु सात करोड रहेको र बाढी प्रभावित बालबालिकाको संरक्षण तथा स्याहारका लागि एमआइटिजीएफ र नेपाल सरकारबीच रु ५८ करोड बराबरको सम्झौता भइसकेको मन्त्री वादीले बताइन।


NPL Special
NPL Special
NPL Special
NPL Special