उद्घाटन भएको झण्डै तीन वर्ष बितिसक्दासमेत विमानस्थलबाट नियमित र पर्याप्त अन्तर्राष्ट्रिय उडान नहुँदा आसपासको पर्यटन तथा होटल क्षेत्रमा गरिएको करिब १ खर्ब रुपैयाँको लगानी जोखिममा परेको भन्दै व्यवसायीहरूले गम्भीर चिन्ता व्यक्त गरेका छन्।
सिद्धार्थ उद्योग वाणिज्य संघ, सिद्धार्थ नेटवर्क रुपन्देही र रुपन्देही उद्योग वाणिज्य संघले बुधबार भैरहवामा संयुक्त पत्रकार सम्मेलन गर्दै आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका हुन्।
माग पुरा गराउन दबाब बढाउन अनिल कुमार ज्ञवालीको संयोजकत्वमा संघर्ष समिति गठन गरिएको छ।
आन्दोलनको पहिलो चरणमा स्थानीय जनप्रतिनिधि, संघीय तथा प्रदेश सांसदहरू, राजनीतिक दल र एयरलाइन्सका पदाधिकारीहरूसँग छलफल गरिने र विमानस्थल अगाडि शान्तिपूर्ण प्रदर्शनसहित प्रधानमन्त्री, पर्यटन, वित्त, श्रम तथा सम्बन्धित मन्त्रालयहरूलाई अल्टिमेटम दिने जानकारी दिइयो।
ज्ञवालीका अनुसार आन्दोलन अन्तर्गत कालोपट्टी बाँध्ने, शान्तिपूर्ण ¥याली र बजार परिक्रमा जस्ता कार्यक्रम रहनेछन्।
यदि मागहरू सम्बोधन भएनन् भने दोस्रो चरणमा विमानस्थल गेट अगाडि धर्ना र विरोधसभा गर्ने, आवश्यकता परेमा आन्तरिक उडानसमेत अवरुद्ध गर्ने चेतावनी दिइएको छ।


