काठमाडौं, मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षणका नाममा भएको भनिएको ठगी र रकम विदेश पठाइएको प्रकरणमा श्रम मन्त्रालयबाट गायब भएको सक्कल फाइल फेला परेको छ। मन्त्रालयले उक्त फाइल थप अनुसन्धानका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई हस्तान्तरण गरेको छ।
श्रममन्त्री रामजी यादवले मंसिर २ गते उपसचिव उपेन्द्र पौडेलको नेतृत्वमा तीन सदस्यीय कार्यदल गठन गरेका थिए। कार्यदलले खोजी गरी मंसिर ९ गते मन्त्री र सचिवलाई बुझाएको फाइल बिहीबार सीआईबीलाई हस्तान्तरण गरिएको हो।
सीआईबीको प्रारम्भिक अनुसन्धानअनुसार ७ लाख ५० हजार ९८८ नेपाली श्रमिकबाट स्वास्थ्य परीक्षणका नाममा बढी रकम असुल गरिएको थियो। त्यसमध्ये १ अर्ब ६९ करोड २ लाख २४ हजार २६ रुपैयाँ ७६ पैसा मलेसिया पठाइएको खुलेको थियो।
अनुसन्धानमा १६ पटक निवेदन दिएर १७ पटक टेलिग्राफिक ट्रान्सफर (टीटी) मार्फत रकम पठाइएको देखिएको छ। उक्त रकम लक्ष्मी सनराइज बैंकको खाताबाट मलेसियास्थित बेस्टिनेट कम्पनीको खातामा जम्मा गरिएको थियो।
यसअघि रकम विदेश पठाउन गरिएका मन्त्रीस्तरीय निर्णयका सक्कल फाइल र ३६ स्वास्थ्य संस्थामाथि गरिएको छानबिन प्रतिवेदनसमेत मन्त्रालयबाट गायब भएको थियो। फाइल भेटिएसँगै अनुसन्धानका लागि महत्त्वपूर्ण कागजात सीआईबीको पहुँचमा पुगेको छ।
यस प्रकरणमा पूर्वमन्त्री रामेश्वर राय यादव र शेरबहादुर कुँवर, तत्कालीन श्रम सचिव विनोद केसी तथा पूर्वमुख्यसचिव एकनारायण अर्यालसहित विभिन्न व्यक्ति पक्राउ परेका छन्।


NPL Special
NPL Special
NPL Special
NPL Special