काठमाडौं, नेपाल र भारतबीच काठमाडौं–भैरहवा–लखनउ हवाई रुटलाई दुईतर्फी सञ्चालन गर्ने सहमति भएको छ। भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भएको सहमतिअनुसार हाल एकतर्फी सञ्चालनमा रहेको ‘बी३४५’ रुटलाई दुवैतर्फी बनाइने भएको हो।
दुवै देशले यसका लागि आवश्यक प्राविधिक परामर्श गरी सञ्चालनको मोडालिटी टुंग्याउने संयुक्त वक्तव्यमा उल्लेख छ। यसबाट विशेषगरी भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको हवाई सम्पर्क विस्तारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
नेपालले लामो समयदेखि महेन्द्रनगर, जनकपुर र भैरहवाबाट हवाई प्रवेश विन्दु उपलब्ध गराउन भारतसँग माग गर्दै आएको छ। तर, पश्चिमबाट काठमाडौं प्रवेश गर्ने उडानका लागि महेन्द्रनगर रुट उपलब्ध गराउने विषयमा भने सहमति जुट्न सकेको छैन।
भारतले हवाई रुटसम्बन्धी विषयलाई प्याकेजमै टुंग्याउन प्रस्ताव गर्दै आएको छ। यसमा बागडोगरा र रक्सौल विमानस्थलमा उडानका लागि नेपाली आकाश प्रयोग गर्न दिनुपर्ने प्रस्तावसमेत समावेश छ। नेपालले भने प्याकेजमा छलफल गर्न असहमति जनाउँदै थप प्राविधिक अध्ययनपछि विषय टुंग्याउने धारणा राखेको छ।


NPL Special
NPL Special
NPL Special
NPL Special