काठमाडौं, एन्टिमाइक्रोबियल प्रतिरोध (एएमआर) विश्वव्यापी स्वास्थ्य चुनौतीका रूपमा फैलिँदै गएको छ। एन्टिबायोटिकलगायत औषधिको जथाभावी प्रयोग र दुरुपयोगका कारण सङ्क्रमणविरुद्ध प्रयोग गरिने औषधि प्रभावहीन बन्दै गएका छन्।
विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) का अनुसार सन् २०२१ मा ब्याक्टेरियाजन्य एएमआर विश्वभर ४७ लाख १० हजार मानिसको मृत्युमा सम्बन्धित थियो। त्यसमध्ये ११ लाख ४० हजारको मृत्यु प्रत्यक्ष रूपमा एएमआरका कारण भएको थियो। सन् २०२५ देखि २०५० सम्ममा यसका कारण तीन करोड ९० लाखभन्दा बढी मानिसको प्रत्यक्ष मृत्यु हुनसक्ने अनुमान छ।
स्वास्थ्य सेवा विभागका निमित्त महानिर्देशक डा. कृष्णप्रसाद पौडेलले एएमआर मौन महामारीका रूपमा फैलिरहेको बताउनुभएको छ। चिकित्सकको सिफारिसबिना एन्टिबायोटिक प्रयोग गर्ने प्रवृत्तिले समस्या थप जटिल बनाएको उहाँको भनाइ छ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सन् २०२४ को अध्ययनअनुसार २८ प्रतिशत बिरामीले चिकित्सकको सल्लाहबिना औषधि किन्ने गरेका छन् भने २२ प्रतिशतले औषधिको निर्धारित मात्रा पूरा नगरी बीचमै छाड्ने गरेका छन्।
एएमआर नियन्त्रणका लागि मानव, पशु र वातावरणीय स्वास्थ्यलाई एकीकृत रूपमा हेर्नुपर्ने विज्ञहरूले बताएका छन्। यसै सन्दर्भमा नोभेम्बर १८ देखि २४ सम्म विश्व एन्टिमाइक्रोबियल सचेतना सप्ताह विभिन्न कार्यक्रमसहित मनाइँदैछ।


NPL Special
NPL Special
NPL Special
NPL Special