काठमाडौं, कञ्चनपुरको भीमदत्त नगरपालिका–११ भुजेलाका वीरबहादुर खड्का तरकारीखेतीबाट सफल किसान बनेका छन्। उनले विसं २०७२ मा ५०० रुपैयाँ लगानी गरेर एक कट्ठा जमिनबाट तरकारीखेती सुरु गरेका थिए। सुरुआतमा उत्पादित तरकारी बिक्रीबाट १० हजार रुपैयाँ आम्दानी भएपछि उनले खेती विस्तार गर्दै लगेका हुन्।
हाल खड्काले तीन बिघा जमिनमा व्यावसायिक तरकारीखेती गर्दै आएका छन्। धान र गहुँखेतीको तुलनामा तरकारीबाट तीन गुणासम्म बढी आम्दानी हुने भएपछि यसैलाई निरन्तरता दिएको उनले बताए।
उनका अनुसार तरकारी बिक्रीबाट सबै खर्च कटाएर वार्षिक २५ लाख रुपैयाँसम्म आम्दानी हुने गरेको छ। यही आम्दानीबाट घर निर्माण, छोराछोरीको पढाइ र एक छोरालाई २० लाख रुपैयाँ खर्च गरेर विदेश पठाउन सफल भएका छन्।
उनको फार्ममा दुई जनाले नियमित रोजगारी पाएका छन् भने वर्षभरिमा ज्यालादारीमा करिब १०० जनाले काम पाउने गरेका छन्।
खड्खाले काउली, बन्दा, ब्रोकाउली, आलु, प्याज, भन्टा र खुर्सानी उत्पादन गर्दै आएका छन्। तर भारतबाट आयात हुने सस्तो तरकारीका कारण स्थानीय उत्पादनले उचित मूल्य पाउन नसकेको उनको गुनासो छ। सरकारले कृषि बीमाको व्यवस्था प्रभावकारी बनाउनुपर्ने उनको माग छ।


NPL Special
NPL Special
NPL Special
NPL Special