काठमाडौं, मुक्तिनाथ पीठाधीश्वर स्वामी कमलनयनाचार्यले नेपाललाई वैदिक ज्ञान, पूर्वीय दर्शन र धार्मिक पर्यटनको अन्तर्राष्ट्रिय केन्द्र बनाउन वैदिक विश्वविद्यालय स्थापना गर्नुपर्नेमा जोड दिएका छन्। चार दशकदेखि सनातन वैदिक धर्मको संरक्षण, धार्मिक सम्पदाको प्रवर्द्धन र तीर्थयात्रीको सेवामा सक्रिय उनले वैदिक ज्ञानको अध्ययन, अनुसन्धान र अन्तर्राष्ट्रिय प्रचारका लागि विशिष्ट विश्वविद्यालय आवश्यक रहेको बताएका छन्।
नवलपरासीको त्रिवेणीधामस्थित गजेन्द्रमोक्ष दिव्यधाममा मङ्सिर १ देखि सुरु भएको अष्टाचल धनधान्याञ्चल विराट महायज्ञ पनि यही अभियानको हिस्सा रहेको उनले बताए। महायज्ञको प्रमुख उद्देश्य श्रीमुक्तिनाथ पीठ वेदविद्याश्रमको स्तरोन्नति गर्दै वैदिक विश्वविद्यालय स्थापना गर्नु रहेको छ।
उनले मुक्तिनाथ, त्रिवेणीधाम र गण्डकी क्षेत्रका धार्मिक सम्पदालाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सके नेपाल महत्वपूर्ण आध्यात्मिक गन्तव्य बन्न सक्ने बताए। शालग्राम सभ्यताको संरक्षण र गण्डकी नदीको धार्मिक महत्वको प्रचारले पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने उनको भनाइ छ।
मुक्तिनाथबाट सुरु भएको एकमहिने रथयात्रा कात्तिक ३० गते गजेन्द्रमोक्ष धाम पुगेको थियो। रथयात्राको उद्देश्य धार्मिक सम्पदाको प्रचारसँगै राष्ट्रिय एकता, सामाजिक सद्भाव र धार्मिक सहिष्णुता अभिवृद्धि गर्नु रहेको उनले बताए।
मङ्सिर महिनाभर सञ्चालन हुने महायज्ञमा वेद, पुराण र उपनिषद्को पाठपारायण, जप, ध्यान, हवन, पाँच करोड २५ लाख दीप प्रज्वलन तथा १०८ कन्याको पूजनलगायत कार्यक्रम राखिएका छन्। नेपाललाई वैदिक ज्ञान र धार्मिक पर्यटनको विश्वव्यापी केन्द्र बनाउन सरकार र निजी क्षेत्रको सहकार्य आवश्यक रहेको उनको भनाइ छ।


NPL Special
NPL Special
NPL Special
NPL Special