अन्ताल्या, संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले विश्वव्यापी तापक्रम वृद्धिलाई १.५ डिग्री सेल्सियसभन्दा माथि जानबाट रोक्न कठिन देखिए पनि त्यसको अवधि र प्रभाव न्यूनीकरण गर्न तत्काल हरितगृह ग्यास उत्सर्जन कटौती गर्नुपर्ने बताएका छन्।
टर्कीको अन्ताल्यामा जारी कोप–३१ को अन्तिम पत्रकार सम्मेलनमा बोल्दै उनले आगामी केही वर्षसम्म वार्षिक करिब छ प्रतिशतका दरले उत्सर्जन घटाउनुपर्ने आवश्यकता औँल्याए। हालका राष्ट्रिय जलवायु प्रतिबद्धता कार्यान्वयन हुँदा पनि यस शताब्दीको अन्त्यसम्म तापक्रम वृद्धि २.५ डिग्री सेल्सियसभन्दा माथि पुग्न सक्ने जोखिम रहेको उनले बताए।
गुटेरेसले विकासशील तथा जलवायु जोखिममा रहेका मुलुकलाई अनुकूलन र जलवायुजन्य हानि तथा नोक्सानी सम्बोधनका लागि थप वित्तीय सहयोग आवश्यक रहेको उल्लेख गरे। उनले विकसित राष्ट्रलाई विगतका जलवायु सम्मेलनमा गरेका वित्तीय प्रतिबद्धता पूरा गर्न आग्रह गरे।
जीवाश्म इन्धनलाई जलवायु सङ्कटको प्रमुख कारक बताउँदै उनले स्वच्छ ऊर्जामा लगानी बढाउन र जीवाश्म इन्धनमाथिको निर्भरता घटाउनुपर्नेमा जोड दिए। जलवायु परिवर्तन वातावरणीय विषय मात्र नभई शान्ति, विकास, मानवअधिकार र सामाजिक न्यायसँग जोडिएको विषय भएको उनको भनाइ थियो।
महासचिव गुटेरेसले जलवायु सङ्कटको सबैभन्दा कम योगदान गरेका देश र समुदायले नै यसको बढी असर भोग्नुपरेको उल्लेख गर्दै अन्तर्राष्ट्रिय सहकार्य र जलवायु न्याय सुनिश्चित गर्न आह्वान गरे।


NPL Special
NPL Special
NPL Special
NPL Special