सुर्खेत, कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजना हुने दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ। मङ्सिर १६ गते कर्णाली प्रदेश रङ्गशालामा औपचारिक उद्घाटन हुने प्रतियोगिताका मुख्य खेल भने मङ्सिर ८ गतेदेखि नै सुरु हुनेछन्।
प्रतियोगितामा सात प्रदेश, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र एनआरएनएसहित ११ टोली सहभागी हुनेछन्। ३२ खेलका ३८४ इभेन्ट्स समावेश प्रतियोगितामा ३८४ स्वर्ण, ३८४ रजत र ५६९ कास्य गरी कुल १ हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुनेछ।
प्रतियोगिताका खेल कर्णाली र लुम्बिनी प्रदेशका सात जिल्लामा सञ्चालन हुनेछन्। सुर्खेतमा मात्रै २३ खेल आयोजना हुनेछन् भने बाँके, बर्दिया, सल्यान, दैलेख, कालीकोट र पश्चिम रुकुममा पनि खेल सञ्चालन गरिनेछ।
प्रतियोगिताको सुरक्षाका लागि दुई हजार सुरक्षाकर्मी परिचालन गरिनेछ। खेलस्थल र नगर क्षेत्रमा २०० भन्दा बढी सीसीटीभी क्यामेरा जडान गरिएको छ। खेलाडी तथा अतिथिका लागि आवास व्यवस्थापनसमेत गरिएको आयोजकले जनाएको छ।
प्रतियोगितामा प्रत्येक टोलीबाट ७४० खेलाडी सहभागी हुनेछन्। समापन समारोह मङ्सिर २७ गते सुर्खेतमा आयोजना हुनेछ।


NPL Special
NPL Special
NPL Special
NPL Special