रसुवा, रसुवाको उच्च हिमाली क्षेत्रमा अवस्थित धार्मिक तथा पर्यटकीयस्थल गोसाइँकुण्ड बाह्रै महिना पदयात्रा र धार्मिक भ्रमणको आकर्षक गन्तव्य बन्दै गएको छ। समुद्री सतहदेखि चार हजार ३८० मिटर उचाइमा रहेको गोसाइँकुण्डमा पछिल्लो समय विशेष पर्व र मेलाबाहेक अन्य समयमा पनि आन्तरिक तथा बाह्य पर्यटक पुग्न थालेका छन्।
सडक सञ्जालको विस्तार र पदमार्गमा होटल तथा लजको सुविधा थपिएपछि यात्रा सहज बनेको स्थानीय व्यवसायी बताउँछन्। काठमाडौंबाट धुन्चेसम्म सवारीसाधनमा पुगेर दुई दिनको पैदलयात्रामा गोसाइँकुण्ड पुग्न सकिन्छ।
धुन्चेका होटल व्यवसायीका अनुसार सामान्य अवस्थामा दैनिक करिब १०० पर्यटक यस क्षेत्रमा पुग्ने गरेका छन्। गत भदौ १० गतेको बाढीले बाटो तथा संरचनामा क्षति पुर्याउँदा केही समय पर्यटक आगमन प्रभावित भए पनि अहिले पर्यटन व्यवसाय सामान्य अवस्थामा फर्किन थालेको छ।
गोसाइँकुण्ड धार्मिक आस्था, प्राकृतिक सौन्दर्य र ऐतिहासिक महत्त्वका कारण पनि चर्चित छ। पौराणिक मान्यताअनुसार भगवान् शिवले त्रिशूल प्रहार गरी जल उत्पन्न गराएको स्थानका रूपमा यस कुण्डलाई लिइन्छ। यहाँ स्नान र पूजाआराधना गर्दा रोगव्याधि हट्ने तथा सुखशान्ति प्राप्त हुने धार्मिक विश्वास छ।
प्रत्येक वर्ष १० हजारभन्दा बढी भक्तजन तथा पदयात्री गोसाइँकुण्ड पुग्ने गरेका छन्। यद्यपि चार हजार मिटरभन्दा माथिको उचाइमा अक्सिजनको मात्रा कम हुने भएकाले लेक लाग्ने जोखिमप्रति सतर्क रहन स्थानीयवासीले सुझाव दिएका छन्।


NPL Special
NPL Special
NPL Special
NPL Special