काठमाडौं, हिन्दुकुश हिमालय क्षेत्रमा हिमनदी तथा हिउँ पग्लिने क्रम तीव्र बन्दै जाँदा उत्पन्न जोखिम र त्यसको न्यूनीकरणका उपायबारे छलफल गर्न काठमाडौँमा अन्तरराष्ट्रिय सम्मेलन आयोजना हुने भएको छ।
अन्तरराष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)को आयोजनामा नोभेम्बर २५ देखि २७ (मङ्सिर ९ देखि ११) सम्म ललितपुरको खुमलटारस्थित कार्यालयमा ‘एचकेएच क्रायोस्फियरका लागि विज्ञान, नीति तथा क्षेत्रीय सहकार्य प्रवर्द्धनसम्बन्धी अन्तरराष्ट्रिय सम्मेलन’ हुन लागेको हो।
सम्मेलनमा हिमनदी पग्लिने क्रम, हिमताल विस्फोटजन्य बाढी, हिमपहिरो, जलस्रोत तथा पर्वतीय समुदायको जीविकोपार्जनमा जलवायु परिवर्तनले पारेको प्रभावबारे छलफल हुनेछ।
इसिमोडका अनुसार हिन्दुकुश हिमालय क्षेत्रमा ध्रुवीय क्षेत्रबाहिर विश्वकै ठूलो हिमभण्डार रहेको छ। यस क्षेत्रका नदीमा करिब दुई अर्ब मानिस निर्भर छन्। सन् १९७५ यता केही क्षेत्रमा हिमनदीको मोटाइ २७ मिटरसम्म घटेको अध्ययनले देखाएको छ।
हिमनदीको नियमित अनुगमन र तथ्याङ्क सङ्कलनमा देखिएका चुनौती सम्मेलनको अर्को प्रमुख विषय हुनेछ। अनुगमनमा रहेका ३८ हिमनदीमध्ये १८ प्रतिशतले मात्र विश्व हिमनदी अनुगमन सेवाले तोकेको न्यूनतम मापदण्ड पूरा गरेका छन्।
सम्मेलनमा वैज्ञानिक अनुसन्धानलाई नीतिनिर्माणसँग जोड्ने, तथ्याङ्क आदानप्रदान गर्ने, क्षेत्रीय सहकार्य विस्तार गर्ने तथा जोखिम न्यूनीकरणका लागि लगानी बढाउने विषयमा समेत छलफल हुनेछ।
इसिमोडले स्विस पोलार इन्स्टिच्युट, क्रायोस्फियर फाउन्डेसन, पोलार रिसर्च सेन्टर र खलिफा विश्वविद्यालयसँगको सहकार्यमा सम्मेलन आयोजना गर्न लागेको हो। सम्मेलनमा क्षेत्रीय तथा अन्तरराष्ट्रिय वैज्ञानिक, नीतिनिर्माता, सरकारी निकाय र विकास साझेदार सहभागी हुनेछन्।


NPL Special
NPL Special
NPL Special
NPL Special