काठमाडौं, शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले नेपाल प्रिमियर लिग (एनपीएल) लाई भविष्यमा ‘होम एण्ड अवे’ ढाँचामा सञ्चालन गर्ने विषयमा आठवटै फ्रेन्चाइज टोलीका सञ्चालक तथा प्रतिनिधिसँग छलफल सुरु गरेका छन्।
मंगलबार सिंहदरबारमा भएको छलफलमा प्रत्येक टोलीका लागि घरेलु मैदानको व्यवस्था गर्ने तथा त्यसका लागि आवश्यक खेलकुद पूर्वाधार निर्माण र स्तरोन्नति गर्ने विषयमा केन्द्रित रहेर विमर्श भएको हो।
छलफलमा मन्त्रीका सल्लाहकार सिद्धि व्यञ्जनकार, नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्का तथा आठवटै फ्रेन्चाइज टोलीका सञ्चालक र प्रतिनिधि सहभागी छन्।
यसअघि एनपीएलको तेस्रो संस्करण सम्पन्न भएपछि प्रधानमन्त्री वालेन्द्र शाहले छैटौँ संस्करणदेखि आठवटै टोलीको आफ्नै घरेलु मैदान हुने र फ्लडलाइटमा समेत खेल सञ्चालन गर्न सकिने गरी पूर्वाधार निर्माण गर्ने घोषणा गरेका थिए।
यसै विषयमा सोमबार पनि मन्त्री पोखरेलको अध्यक्षतामा खेलकुद पूर्वाधार विकास, रंगशाला निर्माण तथा स्तरोन्नति र ‘होम एण्ड अवे’ प्रणाली कार्यान्वयनबारे छलफल भएको थियो।
उक्त बैठकमा रंगशाला निर्माणको लगानी मोडेल, लिज प्रक्रिया र प्राविधिक मापदण्डबारे समेत विमर्श भएको थियो। मन्त्री पोखरेलले सरकार र निजी क्षेत्रको साझेदारीबाट खेलकुद पूर्वाधार विकासलाई गति दिन सकिने बताएका थिए।


NPL Special
NPL Special
NPL Special
NPL Special