काठमाडौं, भौतिक पूर्वाधारमन्त्री सुनिल लम्सालले चितवनको रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा फ्लडलाइट र प्यारापिट निर्माणको लागत इस्टिमेट तीन महिनाभित्र तयार गरी मन्त्रालयमा पठाउन निर्देशन दिएका छन्। रंगशालाको निरीक्षणपछि उनले आवश्यक बजेट मन्त्रालयले विनियोजन गर्ने बताए।
मन्त्री लम्सालले आगामी सिजनको नेपाल प्रिमियर लिग (एनपीएल) चितवनमै आयोजना गर्न सक्ने गरी तयारी अघि बढाउन पनि निर्देशन दिए। हाल रंगशालामा प्यारापिट, मैदान र दुईवटा भीआईपी टावर निर्माणको काम भइरहेको छ।
भरतपुर महानगरपालिकाले २०८१ असार २४ गते हिमालयन जेभीलाई पहिलो चरणको निर्माणको ठेक्का दिएको थियो। ३० महिनाको समयसीमा रहेको उक्त ठेक्का पुस २७ गते सकिँदैछ। हालसम्म ६८ प्रतिशत मात्रै काम सम्पन्न भएको छ। सुरुमा ७८ करोड ५० लाख ९१ हजार रुपैयाँमा दिइएको ठेक्काको लागत भेरिएसनपछि ८६ करोड २४ लाख ८४ हजार रुपैयाँ पुगेको छ।
धुर्मुस–सुन्तली फाउन्डेसनले आर्थिक स्रोत जुटाउन नसकेपछि २०७८ सालमा रोकिएको निर्माणकार्य महानगरपालिकाले स्वामित्व लिएर पुनः अघि बढाएको हो।

NPL Special
NPL Special
NPL Special
NPL Special