काठमाडौं, गृहमन्त्री सुधन गुरुङले आगामी मंसिर १७ गते गोरखामा गुरुङ संस्कृतिअनुसार विवाह गर्ने घोषणा गरेका छन्। तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद्को १५औँ केन्द्रीय पार्षदसभालाई सम्बोधन गर्दै उनले विवाहलाई भड्किलो र खर्चिलो नबनाई सामान्य नागरिकको जस्तै सादगीपूर्ण रूपमा सम्पन्न गर्ने बताए।
उनले विवाहमा गुरुङ समुदायको मौलिक कला, संस्कृति, भेषभूषा र परम्परालाई प्राथमिकता दिने जानकारी दिए। पुर्खाको इतिहास, सामुदायिक पहिचान र मौलिक संस्कृति जोगाउने उद्देश्यले गोरखामा विवाह गर्न लागेको उनको भनाइ छ।
विवाहलाई प्रतिष्ठा र प्रतिस्पर्धाको विषय बनाउने प्रवृत्तिप्रति असन्तुष्टि जनाउँदै उनले अनावश्यक तामझाम र खर्च नगर्ने बताए। समारोहमा सीमित व्यक्ति मात्रै सहभागी हुने उल्लेख गर्दै उनले सबैलाई निमन्त्रणा गर्न नसक्ने पनि स्पष्ट पारे।
गुरुङले आफ्नो विवाहले स्थानीय होमस्टे, कला–संस्कृति र पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने अपेक्षा व्यक्त गरे। गोरखाको उक्त स्थानलाई भविष्यमा पर्यटन तथा वेडिङ डेस्टिनेसनका रूपमा विकास गर्न सकिने उनको भनाइ छ।


NPL Special
NPL Special
NPL Special
NPL Special