काठमाडौं, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री बालेन्द्र शाहमा नेपालको भविष्य र भारत–नेपाल सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने स्पष्ट दृष्टिकोण तथा प्रतिबद्धता देखेको बताएका छन्।
प्रधानमन्त्री शाहसँगको भेटवार्तापछि भारतको नयाँदिल्लीस्थित हैदरावाद हाउसमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा मोदीले छोटो समयको कुराकानीबाटै शाहको दृष्टिकोण र प्रतिबद्धता महसुस गरेको बताए।
“केही महिनाअघि विश्वकै युवा प्रधानमन्त्रीका रूपमा उहाँले विश्व मञ्चलाई सम्बोधन गर्दा उहाँको दूरदर्शिता स्पष्ट देखिएको थियो। आजको कुराकानीमा मैले नेपालको भविष्य र भारत–नेपाल सम्बन्धका लागि उहाँको स्पष्ट दृष्टिकोण र प्रतिबद्धता महसुस गरेको छु”, मोदीले भने।
उनले नेपाली जनताले यस वर्ष प्रधानमन्त्री शाहलाई दिएको ऐतिहासिक जनादेश नयाँ पुस्ताका आकाङ्क्षा र आशाको प्रतिबिम्ब भएको उल्लेख गरे। सशक्त र समृद्ध नेपालको विकास यात्रामा भारत सधैँ साझेदार रहने प्रतिबद्धता पनि उनले व्यक्त गरे।
यसै क्रममा मोदीले नेपाल र भारतबीचको सम्बन्ध छिमेकीको मात्र नभई अद्वितीय विश्वासमा आधारित रहेको बताए। दुवै देशका खुसी र चुनौती साझा रहेको उल्लेख गर्दै उनले एकअर्काको प्रगतिका साझेदार तथा कठिन समयमा सहयोगी रहेको बताए।
उनले नेपाल र भारतबीचको धार्मिक तथा सांस्कृतिक सम्बन्धको चर्चा गर्दै ‘नेपालबिना हाम्रा राम पनि अधुरा छन्’ भन्ने अभिव्यक्ति दिए। साथै, हालै नेपालमा आएको बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरे।


NPL Special
NPL Special
NPL Special
NPL Special