काठमाडौं, प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल र भारतबीचको ऐतिहासिक, सांस्कृतिक तथा सभ्यतागत सम्बन्धलाई आपसी विश्वास, सहकार्य र साझा समृद्धिका माध्यमबाट रूपान्तरणकारी विकास साझेदारीमा परिणत गर्नुपर्ने बताएका छन्।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री शाहले द्विपक्षीय उच्चस्तरीय भेटवार्तापछि सोमबार नयाँदिल्लीस्थित हैदरावाद हाउसमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा यस्तो बताएका हुन्।
उनले नेपाल–भारत सम्बन्धलाई समयानुकूल थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सम्भावनाका नयाँ ढोका खोल्नुपर्नेमा जोड दिए। भगवान् पशुपतिनाथ, माता जानकी र करुणामय मत्स्येन्द्रनाथको आशीर्वाद तथा नेपाली जनताको स्नेह र सद्भाव लिएर आफू भारत भ्रमणमा आएको उल्लेख गर्दै उनले न्यानो आतिथ्यका लागि भारतीय प्रधानमन्त्री मोदीप्रति आभार व्यक्त गरे।
पारस्परिक सम्मान, अटल विश्वास र अविच्छिन्न सद्भाव नेपाल–भारत सम्बन्धका मूल आधार रहेको बताउँदै उनले दुवै देशका जनता यस सम्बन्धको केन्द्रमा रहेको उल्लेख गरे। नेपाल र भारतबीचको सम्बन्ध हिमालझैँ अटल र महासागरझैँ विशाल रहेको उनको भनाइ थियो।
प्रतिनिधिमण्डलस्तरीय वार्तामा द्विपक्षीय सम्बन्धका विभिन्न आयाममा गहन छलफल भएको जानकारी दिँदै प्रधानमन्त्री शाहले सहकार्यका विभिन्न क्षेत्रमा महत्त्वपूर्ण समझदारी हुनुका साथै पूर्वाधार आयोजनाको उद्घाटन र शिलान्यास भएको बताए।
आज भएका समझदारी र परियोजनाको प्रतिफल किसानका खेतमा समृद्धि, युवाका हातमा रोजगारी, विद्यार्थीका लागि नयाँ अवसर तथा उद्यमीका लागि लगानी र बजार विस्तारका रूपमा देखिनुपर्नेमा उनले जोड दिए।
त्यस्तै, जलवायु परिवर्तनका चुनौतीलाई सहकार्यका माध्यमबाट सम्बोधन गर्नुपर्ने उल्लेख गर्दै उनले हिमालयबाट बग्ने नदीहरूले नेपाल र भारतको साझा भविष्यलाई जोडेको बताए। भगवान् श्रीराम र माता जानकीको समयदेखि जोडिएको दुई देशको धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप जीवन्त बनाउन रेल सेवा सुरु गरिएको पनि उनले जानकारी दिए।
प्रधानमन्त्री शाहले नेपालमा भारतीय लगानीकर्तालाई स्वागत गर्दै नेपालमा स्थापना हुने भारतीय प्रविधि संस्थान (आईआईटी) मा भारतीय विद्यार्थीले समेत अध्ययन गर्न सक्ने वातावरण बनाउनुपर्ने बताए। साथै, दुवै देशका नागरिकको सहज आवागमनका लागि सहरहरूबीच प्रत्यक्ष हवाई सम्पर्क विस्तार गर्नुपर्नेमा जोड दिए।
यसै अवसरमा प्रधानमन्त्री शाहले भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निमन्त्रणा दिएका छन्। उनले सम्पूर्ण नेपाली जनताका तर्फबाट मोदीलाई नेपाल भ्रमणका लागि हार्दिक निमन्त्रणा गरेको बताए।
उनले भारतीय नागरिकलाई समेत नेपाल भ्रमण गर्न आह्वान गर्दै मुक्तिनाथ, पशुपतिनाथ, माता जानकी, जीवित देवी कुमारी तथा भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीको भ्रमण गर्न आग्रह गरे।


NPL Special
NPL Special
NPL Special
NPL Special