भारतले यू-१९ र यू-१५ उमेर समूहमा बाँकी १३ स्वर्ण पदक जितेको छ। नेपालका प्रभेश बस्नेत, गनञ्जय दाहाल, हिमाल बिष्ट र रुबिन महर्जन सम्मिलित टोलीले आइतबार लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा सम्पन्न यू-१९ केटातर्फको टिम इभेन्टमा स्वर्ण पदक जितेको हो।
अखिल नेपाल टेबल टेनिस संघको आयोजनामा सम्पन्न प्रतियोगिताको यू-१५ केटातर्फको टिम इभेन्टमा प्रजिल भट्टराई, जयस्नु महर्जन, आर्यन शाही र रिजन शाक्य सम्मिलित नेपाली टोलीले रजत पदक जितेको हो।
यू-१९ केटातर्फको डबल्स इभेन्टमा गनञ्जय दाहाल र प्रभेश बस्नेतले रजत जिते भने यू-१५ डबल्समा प्रजिल भट्टराई र जयस्नु महर्जन दोस्रो भए।
भुटानबाहेक दक्षिण एशियाका ६ देशका ८५ खेलाडीले चारदिने प्रतियोगितामा भाग लिएका थिए। आयोजकका अनुसार यू-१९ केटा र केटी टिम इभेन्टमा पहिलो र दोस्रो हुने टोलीहरू उज्बेकिस्तानमा आयोजना हुने एशियाली जूनियर टेबल टेनिसमा सहभागी हुनेछन्।


