काठमाडौं, प्रधानमन्त्री बालेन्द्र शाह दुईदिने राजकीय भ्रमणका लागि आइतबार भारतको नयाँ दिल्ली पुगेका छन्। प्रधानमन्त्री शाह सवार नेपाल एयरलाइन्सको विमान केहीबेरअघि इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो। उनलाई भारत सरकारका उद्योग तथा वाणिज्य राज्यमन्त्री जितिन प्रसादले स्वागत गरेका छन्।
प्रधानमन्त्री शाहसँग अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनालसहित ३४ सदस्यीय सरकारी प्रतिनिधिमण्डल भारत पुगेको छ। निजी क्षेत्रबाट ५२ सदस्यीय व्यवसायी टोली पनि आफ्नै खर्चमा भ्रमणमा सहभागी भएको छ।
नयाँ दिल्ली पुगेपछि प्रधानमन्त्री शाह होटल ताजमहल जानेछन्। त्यहाँ आइतबार साँझ भारतीय विदेशमन्त्री एस जयशङ्करले उनीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ।
सोमबार प्रधानमन्त्री शाहले महात्मा गान्धीको समाधिस्थल राजघाटमा श्रद्धाञ्जली अर्पण गरेपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग हैदरावाद हाउसमा प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्नेछन्।
वार्तामा व्यापार, पारवहन, लगानी, ऊर्जा, पूर्वाधार तथा सम्पर्क सञ्जाल विस्तारलगायत विषयमा छलफल हुनेछ। साथै विभिन्न परियोजनाको उद्घाटन, नयाँ परियोजनाको शिलान्यास र द्विपक्षीय समझदारीपत्र आदानप्रदान गर्ने कार्यक्रम छ।
प्रधानमन्त्री शाहले सोमबार भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग पनि भेटवार्ता गर्नेछन्। त्यसपछि उनी स्वदेश फर्कने कार्यक्रम रहेको छ।


NPL Special
NPL Special
NPL Special
NPL Special