काठमाडौं, नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ मा ४ खर्ब १० अर्ब रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको १ खर्ब ७२ अर्ब रुपैयाँको तुलनामा दोब्बरभन्दा बढी हो।
राष्ट्र बैंकको वार्षिक प्रतिवेदनअनुसार नाफामा भएको उल्लेख्य वृद्धिको मुख्य कारण विदेशी विनिमय तथा सुनचाँदीको पुनर्मूल्याङ्कनबाट प्राप्त लाभ हो। समीक्षा वर्षमा विदेशी विनिमय पुनर्मूल्याङ्कनबाट २ खर्ब ५४ अर्ब र सुनचाँदी पुनर्मूल्याङ्कनबाट ७१ अर्ब ७१ करोड रुपैयाँ आम्दानी भएको छ।
पुनर्मूल्याङ्कन लाभबाहेक बैंकको नियमित खुद आय ३.८४ प्रतिशतले बढेर ८३ अर्ब ५६ करोड रुपैयाँ पुगेको छ। त्यस्तै, कुल खुद सञ्चालन आम्दानी ६.४८ प्रतिशतले वृद्धि भई ९३ अर्ब ९२ करोड रुपैयाँ कायम भएको छ।
राष्ट्र बैंकले सञ्चालन नाफाबाट ४२ अर्ब रुपैयाँ सरकारलाई उपलब्ध गराएको छ। बाँकी रकम विभिन्न कानुनी कोष तथा जगेडा कोषमा विनियोजन गरिएको छ।
यसैबीच, २०८३ असार मसान्तसम्म राष्ट्र बैंकको कुल सम्पत्ति तथा दायित्व ४५.०६ प्रतिशतले बढेर ३८ खर्ब ७४ अर्ब रुपैयाँ पुगेको छ।

NPL Special
NPL Special
NPL Special
NPL Special