काठमाडौं, मुगुको खत्याड गाउँपालिका–८ नुवाखेतमा लगातार पहिरो खस्दा झुगला–रारा–गमगढी सडक दुई महिनादेखि अवरुद्ध भएको छ। सडक बन्द हुँदा खत्याड गाउँपालिकाका ११ वटै वडाका बासिन्दा, रारा घुम्न आउने पर्यटक तथा जुम्लाको गोठीज्युला जाने यात्रु प्रभावित भएका छन्।
सडक अवरुद्ध भएपछि सदरमुकाम गमगढी, गाउँपालिका केन्द्र, स्वास्थ्य संस्था, वडा कार्यालय तथा इलाका प्रशासन कार्यालय पुग्न स्थानीयलाई कठिनाइ भएको छ। विशेषगरी महिला, बालबालिका, ज्येष्ठ नागरिक, बिरामी र विद्यार्थी बढी प्रभावित भएका छन्।
पहिरोले सिँचाइ कुलो, झोलुङ्गे पुल, खानेपानीका संरचना, गोरेटो बाटो र खेतीयोग्य जमिनमा समेत क्षति पुर्याएको छ। सिँचाइ सुविधा नष्ट हुँदा किसानको खेती बाँझो हुने अवस्था आएको स्थानीयले बताएका छन्।
मुख्यमन्त्री मङ्गलबहादुर शाहीले गत कात्तिक ९ गते प्रभावित क्षेत्रको अनुगमन गर्दै सडक सञ्चालन र प्राविधिक अध्ययनको प्रतिबद्धता जनाए पनि काम अघि बढ्न सकेको छैन। पूर्वाधार विकास कार्यालय मुगुले भने प्राविधिक टोली पठाएर तत्काल सडक खुलाउने र दीर्घकालीन समाधान खोज्ने जनाएको छ।


NPL Special
NPL Special
NPL Special
NPL Special