काठमाडौं, काठमाडौँ उपत्यका ट्राफिक प्रहरीले चर्को आवाज निकाल्ने तथा कानुनविपरीत स्वरूप परिवर्तन गरिएका ४०१ मोटरसाइकल नियन्त्रणमा लिएपछि तिनलाई पुरानै स्वरूपमा फर्काउन थालेको छ। नियन्त्रणमा परेका मोटरसाइकलका धनी आफैँ मिस्त्री लिएर ट्राफिक प्रहरी कार्यालय पुग्न थालेका छन्।
ट्राफिक प्रहरीले एक सातादेखि सञ्चालन गरेको विशेष अभियानका क्रममा ती मोटरसाइकल नियन्त्रणमा लिएको हो। सवारीधनीले कम्पनीले निर्धारण गरेको मापदण्डअनुसार साइलेन्सरलगायतका पार्टपुर्जा परिवर्तन गरी मूल स्वरूप कायम गर्न थालेका छन्।
ट्राफिक प्रहरी प्रमुख एसएसपी सुरेशप्रसाद काफ्लेका अनुसार साइलेन्सर परिवर्तन गरी अत्यधिक आवाज निकाल्ने र आगोका झिल्का निकाल्ने मोटरसाइकलका कारण सर्वसाधारण प्रभावित भएपछि अभियान सञ्चालन गरिएको हो।
नियन्त्रणमा परेका मोटरसाइकलमध्ये ३४७ वटा बुलेट, १७ वटा क्रसफायर, ११ वटा एनएस, नौ वटा केटीएम ड्युक, चार वटा स्कुटर र दुई वटा डुकाटी रहेका छन्।
प्रहरीका अनुसार सवारीधनीले यातायात व्यवस्था कार्यालयमा जरिवाना तिरेर कानुनबमोजिम मोटरसाइकलको मूल स्वरूप कायम गर्नुपर्नेछ।
सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा ३९ ले स्वीकृतिबिना सवारीसाधनको रङ, सिट सङ्ख्या, स्वरूप, इन्जिन वा चेसिस परिवर्तन गर्न निषेध गरेको छ।
चर्को आवाजका कारण वृद्धवृद्धा, बालबालिका तथा विद्यार्थी प्रभावित हुने भएकाले ध्वनि प्रदूषण नियन्त्रण र सडक सुरक्षा सुनिश्चित गर्न अभियानलाई निरन्तरता दिने ट्राफिक प्रहरीले जनाएको छ।


NPL Special
NPL Special
NPL Special
NPL Special