Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: chhotokhabar
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी डिजेल आयात गर्ने निर्णय सार्वजनिक गरेपछि उनको नीतिमाथि प्रश्न उठेको छ। केही साताअघि मात्रै उनले रुसी तेल र ग्यास आयात गर्ने देशमाथि प्रतिबन्ध तथा थप महसुल लगाउने कानुनमा हस्ताक्षर गरेका थिए। इरान युद्धका कारण बढेको ऊर्जा मूल्य घटाउने प्रयासबीच आएको निर्णयको युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आलोचना गर्दै यसले रुसको युद्धलाई सहयोग पुग्ने बताएका छन्।
सर्वोच्च अदालतले राष्ट्रिय परिचयपत्र वा नम्बर नभएका नागरिकलाई अन्य परिचय खुल्ने कागजातका आधारमा बैंकिङ सेवा दिन परमादेश जारी गरेको छ। न्यायाधीश सपना प्रधान मल्ल र मेघराज पोखरेलको संयुक्त इजलासले दुई चरणको प्रमाणीकरण गरी सेवा उपलब्ध गराउन आदेश दिएको हो। राष्ट्रिय परिचयपत्र अनिवार्य हुँदा ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति र अन्य सेवाग्राही बैंकिङ सेवाबाट वञ्चित भएको रिटमा उल्लेख थियो।
नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवाको शुल्क वृद्धि नभएको स्पष्ट पारेको छ। प्राधिकरणका अनुसार सेवा प्रदायकबाट शुल्क बढाउने प्रस्ताव प्राप्त भएको छैन र शुल्क वृद्धि गर्न स्वीकृति पनि दिइएको छैन। स्वीकृत दरभन्दा बढी शुल्क लिने, पूर्वस्वीकृतिबिना शुल्क बढाउने तथा उपभोक्तालाई मर्का पर्ने गरी सेवा सञ्चालन गर्ने प्रदायकमाथि दूरसञ्चार ऐन तथा नियमावलीबमोजिम कारबाही गरिने प्राधिकरणले जनाएको छ।
पहिरोका कारण पृथ्वी, बीपी र कान्तिलोकपथ अवरुद्ध हुँदा काठमाडौँ आवतजावत प्रभावित भएको छ। धादिङ, काभ्रे र ललितपुरका विभिन्न स्थानमा पहिरो खसेपछि सडक बन्द भएका हुन्। गुल्मीको कालीगण्डकी करिडोर पनि अवरुद्ध छ। निरन्तर वर्षाले पहिरो हटाउन कठिन भएको प्रहरीले जनाएको छ। दसैँ मनाउन घर हिँडेका हजारौँ यात्रु बाटोमै अलपत्र परेका छन्।
भारतमा मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा र मतदाता नामावलीको विशेष गहन पुनरावलोकन (एसआईआर) रोक्न माग गर्दै प्रदर्शन हुनुअघि ककरोच जनता पार्टीका संस्थापक अभिजीत दिपकेसहित सयौँ समर्थक पक्राउ परेका छन्। दिल्ली विमानस्थलबाट तीन संस्थापक र गुरुग्रामबाट युट्युबर ध्रुव राठीलाई नियन्त्रणमा लिइएको छ। प्रदर्शन रोक्न राजधानीमा ४३ हजार सुरक्षाकर्मी परिचालन गरिएको छ। विपक्षीले मतदाता नामावलीबाट करोडौँ नाम हटाइएको आरोप लगाएका छन्।
परराष्ट्रमन्त्री शिशिर खनाल र अस्ट्रेलियाका गभर्नर–जनरल साम मोस्टिनबीच भेटवार्ता भएको छ। भेटमा दुई देशबीचको ६० वर्ष लामो मैत्रीपूर्ण सम्बन्ध, नेपाली डायस्पोराको योगदान र विद्यार्थीका हितबारे छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। साथै, कोप–३१ मा अस्ट्रेलियाको नेतृत्व र नेपालको हिमालय संरक्षण, जलवायु उत्थानशीलता तथा पूर्वचेतावनी प्रणालीसम्बन्धी एजेन्डालाई समर्थन गर्ने विषयमा पनि छलफल भएको छ।
अमेरिकाले अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) विरुद्ध प्रतिबन्ध घोषणा गरेको छ। अमेरिकी विदेशमन्त्री मार्को रुबियोले अमेरिकी अधिकारी र सुरक्षाकर्मीलाई अदालतको कारबाहीबाट जोगाउन प्रतिबन्ध आवश्यक रहेको बताएका छन्। आईसीसीले भने यस कदमलाई अन्तर्राष्ट्रिय कानुनमाथिको आक्रमण भनेको छ। ट्रम्प प्रशासनले यसअघि पनि अदालतका केही अधिकारीमाथि प्रतिबन्ध लगाएको थियो। अमेरिका र इजरायलसम्बन्धी अनुसन्धानलाई लिएर दुवै पक्षबीच तनाव बढ्दै आएको छ।
मुग्लिङ–काठमाडौँ सडक पहिरोका कारण अवरुद्ध भएपछि मकवानपुर प्रशासनले त्रिभुवन राजपथमा सवारी आवागमनका लागि नयाँ समयतालिका लागू गरेको छ। हेटौँडा–काठमाडौँ र काठमाडौँ–हेटौँडा जाने सवारीसाधनलाई असोज २४ र २५ गते निश्चित समयमा सञ्चालन गर्न दिइनेछ। ११ मिटर लम्बाइसम्मका यात्रुवाहक सवारीलाई मात्र अनुमति दिइएको छ भने १० चक्काभन्दा बढी र १५ टनभन्दा बढी भार भएका मालवाहक सवारीलाई रोक लगाइएको छ।
आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज औँसीका दिन दिवंगत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी समापन गरिँदैछ। यस दिन रोकिएको श्राद्ध गर्न सकिने शास्त्रीय मान्यता छ। आज पनि गर्न नसकिए आश्विन शुक्ल पञ्चमीसम्म तथा विशेष अवस्थामा अन्य तिथिमा गर्न सकिने धर्मशास्त्रमा उल्लेख छ। पितृ पक्ष सकिएसँगै असोज २५ गते घटस्थापनाबाट दुर्गा पक्ष अर्थात् बडादशैँ सुरु हुनेछ।
पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभावले देशका विभिन्न क्षेत्रमा वर्षा भइरहेको छ। आज दिउँसो कोशी, बागमती र गण्डकीका हिमाली तथा पहाडी भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा हुने सम्भावना छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा पनि वर्षा हुन सक्छ। राति पहाडी क्षेत्रमा हल्का वर्षा वा हिमपातको सम्भावना छ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सभापतिबाहेक अन्य पदाधिकारीको मतगणना शनिबार दिउँसो सुरु हुने भएको छ। निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार उपसभापति र महामन्त्रीका उम्मेदवारलाई दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा छलफलका लागि बोलाइएको छ। छलफलपछि मतगणना सुरु गरिनेछ। शुक्रबार भएको मतदानमा ७ हजार ३९ प्रतिनिधिले मतदान गरेका थिए।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगनकुमार थापा सभापतिमा निर्वाचित भएका छन्। शुक्रबार भएको मतदानपछि काठमाडौंस्थित राष्ट्रिय सभा गृहमा सम्पन्न मतगणनामा थापाले ६ हजार ५८४ मत प्राप्त गरेका छन्। उनका प्रतिस्पर्धी श्यामकृष्ण खड्गीले ३७५ मत पाएका छन् भने ५४ मत बदर भएको छ। कुल ७ हजार ३१७ महाधिवेशन प्रतिनिधिमध्ये ७ हजार ३९ जनाले मतदान गरेका थिए।
पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी नजिकै गलौदी क्षेत्रमा शुक्रबार साँझ सडकको करिब १०० मिटर भाग चर्किएको र २० मिटर खण्ड भासिएको छ। सडक थप भासिने र पहिरो जाने जोखिम बढेपछि सम्भावित दुर्घटना रोक्न सवारी आवागमन बन्द गरिएको ट्राफिक प्रहरीले जनाएको छ। राजमार्ग अवरुद्ध हुँदा उक्त मार्ग भएर यात्रा गर्ने सवारीसाधन र यात्रु प्रभावित भएका छन्।
प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणका लागि परराष्ट्र मन्त्रालयले तयारी अघि बढाएको छ। शुक्रबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले भ्रमणको मिति भने तय भइनसकेको जानकारी दिएका छन्। नेपाल र भारत दुवै पक्षलाई अनुकूल हुने समयमा भ्रमण हुने उनले बताए। भ्रमणका क्रममा दुई देशबीच आपसी हित र सहकार्यका विभिन्न विषयमा छलफल गर्ने गरी एजेन्डा तयार भइरहेको छ।
नेपाल एलपी ग्यास उद्योग संघले असोज २५ देखि ३१ गतेसम्म काठमाडौं उपत्यकाका छ स्थानमा विशेष ग्यास बिक्री तथा सिलिन्डर साटफेरको व्यवस्था गरेको छ। बिहान ९:३० देखि अपराह्न ४:३० बजेसम्म सञ्चालन हुने केन्द्रहरू सिफलचौर, पेप्सीकोला, बालाजु, सुकेधारा, कलंकी र ललितपुरको हरिसिद्धिमा रहनेछन्। चाडपर्वमा ग्यासको सहज उपलब्धता सुनिश्चित गर्न यो व्यवस्था गरिएको संघले जनाएको छ।
मन्त्रिपरिषद् बैठकले विश्व बैंकसँग नेपालको भूकम्पीय जोखिमसम्बन्धी विपद् ऋणपत्रका लागि सम्झौता गर्न स्वीकृति दिएको छ। बैठकले बिटौरी जग्गा दर्तासम्बन्धी समिति गठन आदेश, २०८३ पनि स्वीकृत गरेको छ। त्यस्तै, २०औँ एसियाली खेलकुदमा पदक जित्ने महिला कबड्डी तथा कराँतेका खेलाडी, प्रशिक्षक र व्यवस्थापकलाई नगद पुरस्कार दिने र सहन्यायाधिवक्ता अच्युतमणि नेउपानेलाई बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको सचिवमा पदस्थापन गर्ने निर्णय गरेको छ।
शुक्रबार सेयर बजार परिसूचक नेप्से १७.१५ अंकले बढेर २ हजार ५९१ अंकमा कायम भएको छ। कारोबार रकम पनि अघिल्लो दिनको ३ अर्ब ९३ करोडबाट बढेर ४ अर्ब ८३ करोड रुपैयाँ पुगेको छ। बजारमा १८० कम्पनीको सेयर मूल्य बढ्दा ८९ कम्पनीको घटेको छ भने १० कम्पनीको मूल्य स्थिर रह्यो। बैंकिङ समूह सर्वाधिक १.२८ प्रतिशत बढेको छ।
प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा बसेको लगानी बोर्डको ६८औँ बैठकले नार खोला (५८.९ मेगावाट) र सानी भेरी–३ (४६.७२ मेगावाट) अर्धजलाशययुक्त जलविद्युत् परियोजनामा कुल २१ अर्ब १७ करोड रुपैयाँभन्दा बढी लगानी स्वीकृत गरेको छ। बैठकले अरुण–३ लाई सन् २०२८ फेब्रुअरीसम्म व्यावसायिक उत्पादनमा ल्याउने र माथिल्लो कर्णालीको निर्माण अघि बढाउन सहजीकरण गर्ने निर्णय पनि गरेको छ।
सन् २०२६ को नोबेल शान्ति पुरस्कार दक्षिण अफ्रिकी मानवअधिकार कानुन व्यवसायी नवनितेम ‘नाभी’ पिल्लेलाई प्रदान गरिएको छ। नर्वेजियन नोबेल समितिले शान्ति र अन्तर्राष्ट्रिय कानुनको प्रवर्द्धनमा योगदान पुर्याएको भन्दै उनलाई सम्मान गरेको हो। रङ्गभेदविरुद्ध संघर्ष गरेकी पिल्लेले युद्ध अपराध, मानवताविरुद्धका अपराध र नरसंहारका घटनामा दोषीलाई जवाफदेही बनाउने तथा अन्तर्राष्ट्रिय न्याय प्रणाली सुदृढ गर्ने काममा महत्त्वपूर्ण भूमिका खेलेकी छन्।
श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले सबै रोजगारदाता तथा प्रतिष्ठानलाई श्रमिकलाई अनिवार्य चाडपर्व खर्च उपलब्ध गराउन निर्देशन दिएको छ। श्रम ऐन, २०७४ को दफा ३७ अनुसार प्रत्येक श्रमिकले वार्षिक रूपमा एक महिनाको आधारभूत पारिश्रमिक बराबर रकम पाउनुपर्ने व्यवस्था छ। खर्च नदिने रोजगारदाताविरुद्ध श्रमिकले सम्बन्धित श्रम कार्यालय वा विभागमा उजुरी दिन सक्नेछन्। नियम उल्लङ्घन गर्नेलाई कानुनअनुसार कारबाही हुने विभागले जनाएको छ।

