Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: chhotokhabar
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत खुलामञ्चमा केन्द्रीय कार्यसमितिको बैठक सुरु भएको छ। प्रवक्ता देवराज चालिसेका अनुसार केन्द्रीय कार्यसमितिले प्रतिवेदन पारित गरेपछि मात्र बन्दसत्र सुरू गर्ने कार्यक्रम रहेको छ । बन्दसत्रमा सभापति गगनकुमार थापाको राजनीतिक प्रतिवेदन, विधान संशोधन र आर्थिक प्रतिवेदन पेस हुनेछ। बन्दसत्रपछि नयाँ केन्द्रीय कार्यसमिति चयनको मुख्य निर्वाचन प्रक्रिया अघि बढ्नेछ। आज साँझ ५ बजे अन्तिम मतदाता नामावली प्रकाशन हुनेछ भने मंगलबार उम्मेदवारी मनोनयन दर्ता कार्यक्रम रहेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवालाई अब छोडिदिनु उचित हुने सुझाव दिएका छन्। कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन समारोहमा बोल्दै उनले नयाँ नेतृत्वले नयाँ पुस्ता र बदलिँदो राजनीतिक परिस्थितिअनुसार अघि बढ्नुपर्ने बताए। कांग्रेसको इतिहासको सम्मान गर्दै त्यसबाट सिक्नुपर्ने उल्लेख गर्दै लामिछानेले लोकतान्त्रिक मूल्य मान्यताप्रति प्रतिबद्ध रहँदै गलत सरकारी निर्णय सच्याउन सहकार्य गर्ने बताएका छन्।
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले देश विकासका लागि स्पष्ट योजना बनाएर त्यसको कार्यान्वयनमा राजनीतिक दलहरूले प्रतिस्पर्धा गर्नुपर्ने बताएका छन्। नेपाली कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले मलेसिया, कोरिया, सिंगापुर र चीनले छोटो समयमै गरेको विकासबाट नेपालले सिक्नुपर्ने बताए। आगामी २० वर्षमा नेपाललाई विकसित मुलुकको स्तरमा पुर्याउने योजना बनाउनुपर्ने र राजनीतिक स्थिरताका लागि नयाँ पुस्तालाई विश्वास गर्नुपर्ने उनको भनाइ छ।
पूर्वराष्ट्रपति एवं नेकपा एमालेकी वरिष्ठ नेता विद्यादेवी भण्डारीले राजनीतिलाई केवल पद प्राप्त गर्ने माध्यम नभई समाज र राष्ट्रप्रतिको जिम्मेवारीका रूपमा लिनुपर्ने बताएकी छन्। काठमाडौंमा आनन्दप्रसाद पोखरेलद्वारा लिखित ‘जीवनी, विचार, संघर्ष र नेतृत्व’ पुस्तक विमोचन कार्यक्रममा बोल्दै उनले राजनीतिक दल र नेताहरूको विगतको संघर्ष तथा अनुभवले पनि यही कुरा पुष्टि गरेको बताइन्। नयाँ पुस्तामा राजनीति र नेतृत्वप्रति चासोसँगै प्रश्न र असन्तुष्टि बढेको उनको भनाइ छ।
काठमाडौंको खुलामञ्चमा नेपाली कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन समारोह सञ्चालन भइरहेको छ। समारोहमा नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, रास्वपा सभापति रवि लामिछाने, एमाले महासचिव शंकर पोखरेल र राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनलगायत नेता सहभागी भएका छन्। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पनि समारोहमा पुगेकी छन्। कांग्रेस सभापति गगन थापाले दीप प्रज्वलन, माल्यार्पण र बिरुवामा पानी हालेर महाधिवेशन उद्घाटन गरेका छन्।
नेपाली कांग्रेस सभापति गगन थापाले १५औँ महाधिवेशनका लागि तयार पारेको राजनीतिक प्रतिवेदनमा पार्टीको राजनीतिक, वैचारिक, सांगठनिक र आर्थिक रूपान्तरणका प्रस्ताव अघि सारेका छन्। प्रतिवेदनमा सत्ता, पद र गुटकेन्द्रित राजनीतिका कारण जनतासँग बढेको दूरी स्वीकार गर्दै नयाँ राजनीतिक संस्कार अपनाउने उल्लेख छ। निर्वाचनमा पूर्वगठबन्धन नगर्ने, उम्मेदवार छनोटमा योग्यता र कार्यसम्पादनलाई आधार बनाउने तथा प्रमुख प्रतिपक्षको भूमिका प्रभावकारी बनाउने प्रस्ताव गरिएको छ।
नेकपा एमाले संसदीय दलको बैठक पार्टी कार्यालय च्यासलमा जारी छ। बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष तथा संसदीय दलका नेता रामबहादुर थापा, उपनेता पद्मा अर्याल र प्रमुख सचेतक ऐन महरसहितका नेताहरू सहभागी छन्। एमालेले संसद् अधिवेशन सुरु हुनुअघि र समाप्त भएपछि दलको बैठक बोलाउँदै अधिवेशन अवधिमा भएका कामकारबाहीको समीक्षा गर्दै आएको छ।
जनमत पार्टीको अध्यक्षमा डा. सीके राउत पुनः निर्वाचित भएका छन्। वीरगञ्जमा सम्पन्न महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा राउतले ९५८ मत प्राप्त गरेका हुन्। अध्यक्षमा उनको मात्रै उम्मेदवारी परे पनि पार्टी विधानअनुसार कुल सदर मतको कम्तीमा २० प्रतिशत मत ल्याउनुपर्ने भएकाले मतदान भएको थियो। महासचिवमा सञ्जयकुमार यादव ६१८ मतसहित निर्वाचित भए भने सात उपाध्यक्ष र सात सचिव पनि निर्वाचित भएका छन्।
नेपाली कांग्रेसले पार्टीको विधान संशोधन गर्दै पदाधिकारी र केन्द्रीय सदस्यको संख्या बढाउने तयारी गरेको छ। विधान मस्यौदा समितिले पार्टीभित्रबाट आएका सुझाव र नेतृत्वका आकांक्षी व्यवस्थापन गर्न संख्या थप्ने प्रस्ताव अघि बढाएको हो। उपसभापति तीन जना बनाउने, एक पद महिला र एक वरिष्ठ उपसभापतिका लागि राख्ने तथा सहमहामन्त्रीमा खुलातर्फ पनि प्रतिस्पर्धा गराउने प्रस्ताव गरिएको छ।
ब्राजिलमा आज राष्ट्रपतीय निर्वाचन हुँदै छ। १२ जना उम्मेदवार मैदानमा रहे पनि वर्तमान राष्ट्रपति तथा वामपन्थी नेता लुइज इनासियो लुला दा सिल्भा र दक्षिणपन्थी नेता फ्लाभियो बोल्सोनारो मुख्य प्रतिस्पर्धी देखिएका छन्। सर्वेक्षणमा दुवैको समर्थन करिब ४० प्रतिशत हाराहारीमा रहेको छ। कुनै उम्मेदवारले ५० प्रतिशत मत नल्याए अक्टोबर २५ मा शीर्ष दुईबीच दोस्रो चरणको निर्वाचन हुनेछ।
रुपन्देहीको तिलोत्तमामा १० वर्षीया बालिका अपहरण गरेको आरोपमा प्रहरीले युवकलाई गोली हानेर पक्राउ गरेको छ । तिलोत्तमा-१७ दरखसवाका २७ वर्षीय युवराज थारु ‘विशाल’लाई शनिबार राति नियन्त्रणमा लिइएको हो । पक्राउ गर्न खोज्दा भाग्ने प्रयास गरेपछि एक राउन्ड गोली चलाइएको प्रहरीले जनाएको छ । खुट्टामा गोली लागेका थारुको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । बुधबार राति आफ्नै घरमा सुतिरहेको अवस्थामा अपहरणमा परेकी बालिकाको शुक्रबार सकुशल उद्धार गरिएको थियो।
नेपाली बजारमा आज (आइतबार) सुनको भाउ प्रतितोला २ हजार ९ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला २ लाख ९१ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार सुन २ लाख ९४ हजार ८ सय रुपैयाँ मा किनबेच भएको थियो। आइतबार चाँदीको मूल्य पनि घटेको छ।चाँदी पनि प्रतितोला ६० रुपैयाँ घटेर ४ हजार ३ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार एक सय ४१ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज दिउँसो २ बजे काठमाडौंको खुलामञ्चमा सुरु हुँदैछ। महाधिवेशनको उद्घाट सत्रमा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, रास्वपा सभापति रवि लामिछाने, नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र जसपा अध्यक्ष उपेन्द्र यादव सहभागी हुनेछन्। यता, एमाले अध्यक्ष केपी शर्मा ओली भने महाधिवेशनमा सहभागी नहुने भएका छन्। ओली नआउने भएपछि एमाले महासचिव शंकर पोखरेलले उनको प्रतिनिधित्व गर्ने भएका छन्।
पूर्वाधार विकास मन्त्रालयले हरेक नागरिकको आवासको अधिकार सुनिश्चित गर्ने उद्देश्यले भवन ऐन २०८३ को विधेयक संघीय संसद सचिवालयमा दर्ता गरेको छ। विधेयकमा निम्न आय भएका परिवारलाई आवासका लागि अनुदान, पहिलोपटक घर बनाउनेलाई आवश्यक निर्माण सामग्री निःशुल्क उपलब्ध गराउने तथा विपद् र जोखिमपूर्ण बस्ती स्थानान्तरण गरी नयाँ घर निर्माण गर्ने व्यवस्था प्रस्ताव गरिएको छ। मध्यम आय भएका परिवारका लागि सहुलियतपूर्ण ऋणमा सुरक्षित घर उपलब्ध गराउने प्रस्ताव पनि छ।
नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माले आगामी १५औँ महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्। पार्टीलाई आम जनतासँग प्रत्यक्ष जोड्दै दूरदराजका नागरिकका समस्यालाई राजनीतिको मूलधारमा ल्याउने उनको संकल्प छ। बीपी र गिरिजाबाबुको थातथलो मोरङबाट प्रतिनिधित्व गर्दै शर्माले कांग्रेसको नीति र निर्णयलाई जनमुखी बनाउन आफूले उम्मेदवारी दिएको बताएका छन्। उनले पार्टी रूपान्तरण र लोकतन्त्र सुदृढीकरणका लागि आफ्नो लामो राजनीतिक अनुभव उपयोग गर्ने प्रतिबद्धता समेत जनाए।
नेपालका ३७ जिल्लामा जापानीज इन्सेफलाइटिस फैलिँदा हालसम्म १३१ जना सङ्क्रमित भएका छन् भने २८ जनाको ज्यान गएको छ। सङ्क्रमितमध्ये ८७ प्रतिशतले खोप नलगाएको परिवार कल्याण महाशाखाले जनाएको छ। विशेषगरी धानखेत र सुँगुर फार्म आसपास बस्ने कृषिमा आबद्ध व्यक्तिहरू बढी प्रभावित पाइएका छन्। अहिले झापा र कैलालीमा खोप अभियान जारी छ। सङ्क्रमणबाट बच्न खोप लगाउन र लामखुट्टेको टोकाइबाट जोगिन चिकित्सकहरूले आग्रह गरेका छन्। सरकारले प्रभावित क्षेत्रमा ३० वर्षमाथिका व्यक्तिहरूलाई लक्षित गरी खोप कार्यक्रम सञ्चालन गरिरहेको छ।
सर्वोच्च अदालतले एकल महिलाले पुनः विवाह गरे पनि अंशबापत प्राप्त सम्पत्ति छाड्न नपर्ने फैसला गरेको छ। संवैधानिक इजलासले मुलुकी देवानी संहिता २०७४ को दफा २१४(२) मा रहेको पुनः विवाह गरेपछि मृतक पतिको सम्पत्तिबाट पाएको अंश सन्तानलाई दिनुपर्ने व्यवस्था संविधानसँग बाझिएको ठहर गरेको हो। अदालतले यस्तो व्यवस्था सम्मानपूर्वक बाँच्ने, समानता र सम्पत्तिको हकविपरीत रहेको जनाएको छ।
बहुप्रतिक्षित चलचित्र ‘दृश्यम ३’ ले रिलिजको पहिलो दिनमै ५० करोड रुपैयाँभन्दा माथिको कमाइ गर्दै बक्स अफिसमा सानदार व्यापार गरेको छ। ‘दृश्यमः द कन्क्लुजन’ शुक्रबारदेखि नेपाली सिनेमा हलहरूमा समेत दर्शकमाझ औपचारिक रूपमा प्रदर्शन भइरहेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज अपराह्न वनस्थलीस्थित घन्टीघरमा बस्दैछ। पार्टी प्रवक्ता जगदीश खरेलका अनुसार बैठकमा स्थानीय तह निर्वाचनका लागि केन्द्रीय उम्मेदवार छनोट समिति सदस्य मनोनयनबारे छलफल हुनेछ। सभापति रवि लामिछानेको अध्यक्षतामा बस्ने बैठकमा विभागीय प्रमुख तथा उपप्रमुख मनोनयन, ‘हामी आउँदै छौँ’ अभियान र मधेश प्रदेश संगठनको ‘अडिट’ प्रतिवेदनबारे पनि छलफल हुने जनाइएको छ।
नेपाली कांग्रेसका इतर पक्षका नेता डा. प्रकाशशरण महतले सभापति गगन थापाले गराएको अधिवेशन प्रक्रियामा सहभागी नेता–कार्यकर्ता आफ्नो समूहको अधिवेशन प्रक्रियामा फर्किन थालेको दाबी गरेका छन्। काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले देशभर स्वतःस्फूर्त रूपमा नेता–कार्यकर्ता जोडिएको बताए। विशेष अधिवेशनमार्फत पार्टीलाई बिथोल्ने प्रयास भएको आरोप लगाउँदै उनले पार्टीका मूल आदर्श, मूल्य र मान्यताको पक्षमा आफूहरू उभिएको दाबी गरेका छन्।

