Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: chhotokhabar
सरकारले असामान्य मूल्यवृद्धिबाट प्रभावित सार्वजनिक निर्माणका ठेक्कामा विशेष मूल्य समायोजन गर्ने निर्णय गरेको छ। पूर्वाधार विकास मन्त्रालयका अनुसार पेट्रोलियम पदार्थ, बिटुमिन, एचडीपीई पाइप, सिमेन्ट र डन्डीको वास्तविक तथा प्रमाणित खपतका आधारमा मूल्य समायोजन गरिनेछ। १५ चैत २०८२ पछिसमेत कार्यसम्पादन अवधि कायम रहेका ठेक्का र मापदण्ड पूरा गर्ने मूल्य समायोजन नभएका ठेक्कासमेत यस व्यवस्थामा समेटिने मन्त्रालयले जनाएको छ।
सरकारले जेनजी आन्दोलनसँग सम्बन्धित फौजदारी मुद्दा फिर्ता गर्न सकिने वा नसकिनेबारे अध्ययन गर्न पूर्वन्यायाधीश बाबुराम रेग्मी नेतृत्वको समितिले दिएको प्रतिवेदन गृह मन्त्रालय पठाउने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नर्वेजियन सरकारको करिब १० करोड रुपैयाँ अनुदान स्वीकार गर्ने, नेपाल इन्जिनियरिङ सेवा र वैकल्पिक विकास वित्तसम्बन्धी नियमावली स्वीकृत गर्ने तथा पदमकुमार मैनालीलाई सचिवमा बढुवा गर्ने निर्णय पनि गरेको छ।
सन् २०२६ को चिकित्सा नोबेल पुरस्कार जर्मनीका वैज्ञानिक पिटर हेगेम्यान, जर्ज नागेल र अमेरिकाका कार्ल डाइसेरोथलाई प्रदान गरिएको छ। मस्तिष्कका तन्त्रिका कोषिकाको गतिविधि प्रकाशमार्फत नियन्त्रण गर्न सकिने ‘अप्टोजेनेटिक्स’ प्रविधिको विकासमा योगदान पुर्याएकोमा उनीहरूलाई सम्मान गरिएको हो। यस प्रविधिले मस्तिष्कका कोषिकाको भूमिका अध्ययन गर्न तथा स्मरणशक्ति, भावना, व्यवहार र मानसिक रोगसम्बन्धी अनुसन्धानमा नयाँ बाटो खोलेको छ।
सरकारले भोटेकोसी–त्रिशूली बाढीपछिको अत्यावश्यकबाहेकको खोज तथा उद्धार कार्य हालका लागि स्थगित गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकले पुनर्निर्माण र पुनर्स्थापनालाई तीव्रता दिने निर्णय गरेको हो। प्रभावित क्षेत्रका ५०४ योजना तथा कार्यक्रमका लागि ५ खर्ब ५९ अर्ब १७ करोड ७२ लाख रुपैयाँ बजेट व्यवस्थापन गर्न अर्थ मन्त्रालयमा सिफारिश गर्ने निर्णय पनि गरिएको छ।
गृहमन्त्री सुधन गुरुङ बिमस्टेक बैठकमा सहभागी हुन भारत जाने भएका छन्। गृह मन्त्रालयका अनुसार उनी असोज २६ गते भारत प्रस्थान गर्ने तयारीमा छन्। बैठकमा नेपालसहित बंगलादेश, भुटान, भारत, म्यानमार, श्रीलंका र थाइल्यान्डका गृहमन्त्री सहभागी हुनेछन्। बिमस्टेकका सदस्य राष्ट्रबीच क्षेत्रीय सहयोग तथा साझा विषयमा छलफल हुने बैठकमा नेपालका तर्फबाट गृहमन्त्री गुरुङ सहभागी हुन लागेका हुन्।
पूर्वप्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता झलनाथ खनालद्वारा सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी ‘समाजवादी जागरण अभियान’ घोषणा गरेका छन्। कम्युनिस्ट आन्दोलनलाई वैचारिक रूपमा पुनर्गठन गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको खनालले बताएका छन्। उनले कम्युनिस्ट समूहहरूबीच वैचारिक तथा राजनीतिक एकताको आधार निर्माण गर्दै एकीकृत क्रान्तिकारी कम्युनिस्ट पार्टी निर्माणको दिशामा अघि बढ्ने बताएका छन्। यद्धपि उनले पार्टी भने परित्याग नगरेको उनको सचिवालयले जनाएको छ। यस समाचारमा यसअघि पार्टी परित्याग गरेको सच्याइएको छ – सम्पादक
साताको पहिलो कारोबार दिन सोमबार नेप्से परिसूचक २०.४८ अंकले घटेर २५६६.७६ अंकमा झरेको छ। कारोबार रकम पनि घटेर ३ अर्ब २७ करोड रुपैयाँमा सीमित भएको छ। सोमबार ३२ कम्पनीको सेयर मूल्य बढ्दा २४२ कम्पनीको घटेको छ। अधिकांश समूहगत परिसूचक ओरालो लागेका छन्। शुक्रबार नेप्से ११ अंकले घटेको थियो भने कारोबार रकम ३ अर्ब ८९ करोड थियो।
नेपाल–चीनबीचको कोरला नाका जोड्ने बेनी–जोमसोम सडक पूर्ण रूपमा सञ्चालनमा आउन अझै करिब एक साता लाग्ने भएको छ। सडक विभागका अनुसार घासा–कोरला खण्डमा दुईतर्फी यातायात सुरु भए पनि रातोपानी, भीरकाटे, बेगखोला र बैसेरी क्षेत्रमा सडक भासिने तथा पहिरोका कारण समस्या छ। राहुघाट–सिरुबारी खण्डमा एकतर्फी यातायात सञ्चालनमा छ भने मुख्य कटान तथा पहिरोग्रस्त क्षेत्रमा काम सुरु हुँदैछ।
सार्वजनिक खरिद अनुगमन कार्यालयको विद्युतीय ठेक्का प्रणाली (ई–बिडिङ) ह्याक प्रकरणमा प्रहरीले आठ निर्माण व्यवसायीलाई पक्राउ गरेको छ। नेपाल प्रहरीको साइबर ब्यूरोले शुक्रबार भक्तबहादुर लामा, विष्णुमान लामा, किरण मल्ल, ध्रुव खनाल, नारायणप्रसाद सितिखु, स्वदेश पोखरेल र रितुबहादुर कार्कीसहित आठ जनालाई पक्राउ गरेको जनाएको छ। यसअघि विक्रम पाण्डे र ऋषिकेश गौली पनि पक्राउ परी धरौटीमा रिहा भएका थिए।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनको बन्दसत्र सुरु भएको छ। केन्द्रीय कार्यसमितिको अन्तिम बैठकले बन्दसत्रमा पेस गर्ने एजेन्डा पारित गरेपछि प्रतिनिधिहरू समूहगत छलफलमा जुटेका छन्। बन्दसत्रलाई हिमाल, पहाड र तराई–मधेश गरी तीन क्लस्टरमा विभाजन गरिएको छ। सुरुवातमा पहाडको बन्दसत्र सञ्चालन भइरहेको छ। प्रतिनिधिहरूलाई सम्बन्धित क्लस्टरअनुसार हिमाल, पहाड र तराई–मधेश हलमा विभाजन गरिएको छ।
प्रधानमन्त्री वालेन्द्र शाहले भदौ १० गतेयता संघ, प्रदेश र स्थानीय सरकारबीच समन्वय गर्दै विपद् व्यवस्थापनको काम निरन्तर भइरहेको बताएका छन्। विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकमा उनले बाढीपहिरो प्रभावित क्षेत्रको क्षतिको अध्ययनसहित व्यवस्थापनमा सरकार जुटिरहेको बताए। पूर्वसूचना प्रणाली सुदृढ बनाउने र हिमपहिरोको जोखिम घटाउन आवश्यक काम भइरहेको जानकारी दिँदै उनले उद्धार तथा व्यवस्थापनमा खटिने सबैप्रति आभार व्यक्त गरे।
नेपाली कांग्रेसले सहमहामन्त्रीको संख्या बढाएर १५ जना बनाउने भएको छ। नयाँ व्यवस्थाअनुसार महिला, आदिवासी जनजाति, दलित, मधेशी, खस आर्य, थारू, मुस्लिम, पिछडिएको क्षेत्र र अल्पसंख्यक/अपाङ्गता समुदायबाट एक–एक जना गरी नौ जना सहमहामन्त्री हुनेछन्। खुलातर्फ दुई जना चयन हुनेछन् भने सभापतिले एक महिलासहित चार जना मनोनीत गर्ने व्यवस्था गरिएको छ। विधान संशोधनमार्फत यो व्यवस्था गरिएको हो।
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिले १५औँ महाधिवेशनका लागि सभापति गगनकुमार थापाको राजनीतिक प्रतिवेदन सर्वसम्मत पारित गरेको छ। स्वीकृत कार्यदिशाले आगामी निर्वाचनहरूमा पार्टीले निर्वाचनपूर्व गठबन्धन नगर्ने स्पष्ट नीति लिएको छ। प्रतिवेदनमा आगामी चार वर्षका लागि नीतिगत पुनर्संरचना, निजी क्षेत्रसँग सहकार्य, युवा सहभागिता र ‘समुन्नत नेपाल, सम्मानित नेपाली’ को मुख्य अवधारणा समेटिएको छ।
इन्टरनेट सर्भिस प्रोभाइडर एसोसिएसन अफ नेपाल (आइस्पान)ले आजदेखि सस्तो र कम स्पीडका इन्टरनेट प्याकेज बन्द गर्ने निर्णय गरेको छ। इन्धन, फाइबर, इलेक्ट्रोनिक र चिपसेटको मूल्य बढेको तथा मुद्रास्फीतिले सञ्चालन लागत बढेकाले यस्तो निर्णय गरिएको अध्यक्ष सुधिर पराजुलीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। सबै आईएसपीले नेपाल दूरसञ्चार प्राधिकरणबाट स्वीकृत दररेट मात्र वेबसाइटमा राख्न र ग्राहकले भ्याट बिल लिन आइस्पानले अनुरोध गरेको छ।
स्थानीय बजारमा सुनको मूल्य घटेको छ। सोमबार सुनको मूल्य तोलामा ४०० रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। महासंघका अनुसार छापावाल सुन प्रतितोला दुई लाख ९१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार त्यही सुन प्रतितोला दुई लाख ९१ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य भने तोलामा ४० रुपैयाँ बढेर चार हजार ४३० रुपैयाँ पुगेको छ।
आज मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ। बैठक सोमबार दिउँसो ३ बजे बस्ने तय भएको प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को सचिवालयले जनाएको छ। बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्नेछ। यो मन्त्रिपरिषद्को नियमित बैठक हो ।
बागलुङको निसीखोला गाउँपालिका–३ बोहोरागाउँमा सडक स्तरोन्नतिको क्रममा माटोको ढिस्को खस्दा पुरिएर दुई मजदुरको मृत्यु भएको छ। प्रहरीका अनुसार आज बिहान करिब ७:२० बजे जेसीबीले सडक खन्दै गर्दा दुर्घटना भएको हो। मृतकमा सल्यानका ३२ वर्षीय लालबहादुर बुढाथोकी र उदयपुरका ३२ वर्षीय राजु थापामगर छन्। रोल्पाका २५ वर्षीय कृष्णबहादुर घर्ती गम्भीर घाइते भएका छन्; उनलाई तत्काल उद्धार गरी बुर्तिबाङ अस्पताल पठाइएको छ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत खुलामञ्चमा केन्द्रीय कार्यसमितिको बैठक सुरु भएको छ। प्रवक्ता देवराज चालिसेका अनुसार केन्द्रीय कार्यसमितिले प्रतिवेदन पारित गरेपछि मात्र बन्दसत्र सुरू गर्ने कार्यक्रम रहेको छ । बन्दसत्रमा सभापति गगनकुमार थापाको राजनीतिक प्रतिवेदन, विधान संशोधन र आर्थिक प्रतिवेदन पेस हुनेछ। बन्दसत्रपछि नयाँ केन्द्रीय कार्यसमिति चयनको मुख्य निर्वाचन प्रक्रिया अघि बढ्नेछ। आज साँझ ५ बजे अन्तिम मतदाता नामावली प्रकाशन हुनेछ भने मंगलबार उम्मेदवारी मनोनयन दर्ता कार्यक्रम रहेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवालाई अब छोडिदिनु उचित हुने सुझाव दिएका छन्। कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन समारोहमा बोल्दै उनले नयाँ नेतृत्वले नयाँ पुस्ता र बदलिँदो राजनीतिक परिस्थितिअनुसार अघि बढ्नुपर्ने बताए। कांग्रेसको इतिहासको सम्मान गर्दै त्यसबाट सिक्नुपर्ने उल्लेख गर्दै लामिछानेले लोकतान्त्रिक मूल्य मान्यताप्रति प्रतिबद्ध रहँदै गलत सरकारी निर्णय सच्याउन सहकार्य गर्ने बताएका छन्।
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले देश विकासका लागि स्पष्ट योजना बनाएर त्यसको कार्यान्वयनमा राजनीतिक दलहरूले प्रतिस्पर्धा गर्नुपर्ने बताएका छन्। नेपाली कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले मलेसिया, कोरिया, सिंगापुर र चीनले छोटो समयमै गरेको विकासबाट नेपालले सिक्नुपर्ने बताए। आगामी २० वर्षमा नेपाललाई विकसित मुलुकको स्तरमा पुर्याउने योजना बनाउनुपर्ने र राजनीतिक स्थिरताका लागि नयाँ पुस्तालाई विश्वास गर्नुपर्ने उनको भनाइ छ।

