Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: chhotokhabar
एशियन गेम्समा लगातार दोस्रो पटक काँस्य पदक जितेको नेपाली महिला कबड्डी टोली स्वदेश फर्किएको छ। टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरिएको छ। सीमित पूर्वाधार र कठिन तयारीका बाबजुद नेपालले पदक जितेको हो। सेमिफाइनलमा भारतसँग पराजित भए पनि टोलीले प्रतियोगितामा काँस्य पदक हात पार्दै नेपाली खेलकुदमा अर्को उपलब्धि थपेको छ।
परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री बालेन्द्र साहको भारत भ्रमण परिणाममुखी र अर्थपूर्ण हुने अपेक्षा दुवै मुलुकले गरेको बताएका छन्। संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी भएर स्वदेश फर्किने क्रममा विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उनले भ्रमणको मिति तय नभए पनि दुवै पक्ष सकारात्मक छलफलमा रहेको जानकारी दिएका छन्। उनले महासभा नेपालको हित प्रवर्द्धनका लागि फलदायी रहेको दाबी गरेका छन्।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले रोग नियन्त्रण केन्द्र (सीडीसी), खाद्य तथा औषधि प्रशासन र राष्ट्रिय स्वास्थ्य प्रत्यायन प्राधिकरण गठनका लागि प्रारम्भिक छलफल सुरु गरेको छ। बुधबार सरोकारवालासँग भएको छलफलमा तीनवटै निकायको कार्यदिशा र संरचनाबारे विचारविमर्श गरिएको हो। प्राप्त सुझावका आधारमा मस्यौदा, कार्यढाँचा र मार्गचित्र तयार गरी आगामी प्रक्रिया अघि बढाउने मन्त्रालयको तयारी छ।
नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले १५औँ महाधिवेशनको कार्यतालिका निर्वाचन आयोगमा पेस गरेको छ। देउवाको हस्ताक्षर रहेको पत्र मंगलबार आयोगमा बुझाइएको हो। कार्यतालिकाअनुसार असोज १५ गते वडा अधिवेशन सुरु गरी मंसिर २१ देखि २३ गतेसम्म काठमाडौंमा केन्द्रीय महाधिवेशन गर्ने प्रस्ताव छ। पार्टीको आधिकारिकतासम्बन्धी विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेकै अवस्थामा दुवै पक्षले महाधिवेशन प्रक्रिया अघि बढाएका छन्।
नेपाली सुनचाँदी बजारमा बुधबार सुनको मूल्यमा उल्लेख्य वृद्धि देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला २ हजार ८ सय रुपैयाँले बढेको हो। यो वृद्धिसँगै आज बजारमा सुन प्रतितोला २ लाख ९३ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिनको तुलनामा मूल्यमा आएको यो बढोत्तरीले बजारमा नयाँ तरंग पैदा गरेको छ।
सुनसरीको इटहरीमा आजदेखि ‘सीप तथा रोजगार मेला २०८३’ सुरु हुँदैछ। युवा, श्रम तथा रोजगार मन्त्रालयद्वारा आयोजित यस मेलाको उद्घाटन सभामुख डोलप्रसाद अर्यालले गर्नेछन्। असोज २० सम्म चल्ने मेलामा युवालाई उद्यमशील बनाउन प्यानल छलफल र १० विधामा व्यवहारिक तालिम दिइनेछ। यसले युवाको सीप पहिचान गरी रोजगारदातासँग प्रत्यक्ष जोड्ने लक्ष्य राखेको छ। आजदेखि प्रशिक्षार्थी छनोट र परामर्श सेवा सुरु हुनेछ।
नेपाल उद्योग वाणिज्य महासंघका पुँजीबजार समिति सभापति प्रियराज रेग्मीले नेपाल स्टक एक्सचेन्ज (नेप्से) को निजीकरण गर्नुपर्नेमा जोड दिएका छन्। बुधबार अर्थ समितिको बैठकमा बोल्दै उनले पुँजी बजारका विद्यमान समस्या समाधान गर्न र नीतिगत सुधारलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न नेप्सेमा रणनीतिक साझेदार भित्र्याउनु आवश्यक रहेको बताए।
नेपथ्य ब्यान्डले दुबईमा रहेका नेपालीहरूका लागि विशेष सांगीतिक प्रस्तुतिको तयारी पूरा गरेको छ। गायक अमृत गुरुङले यसपटक दर्शकलाई नचाउने र सँगै गाउन प्रेरित गर्ने खालका रमाइला गीतहरूलाई प्राथमिकता दिइने बताएका छन्। दसैंको पूर्वसन्ध्यामा आयोजना हुन लागेको यस कार्यक्रमले प्रवासमा रहेका नेपालीहरूलाई मनोरञ्जनको साथै घरदेशको न्यास्रो मेटाउने अवसर प्रदान गर्नेछ।
एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को वार्षिक बैठकमा सहभागी भई अर्थमन्त्री डा. स्वर्णिम वाग्ले आज बिहान काठमाडौं फर्किएका छन्। कतारको दोहामा सम्पन्न सो बैठकले नेपाललाई सन् २०२६-२७ का लागि बैंकको उप-सभापति पदमा निर्वाचित गरेको छ, जुन नेपालका लागि ऐतिहासिक उपलब्धि हो। भ्रमणका क्रममा डा. वाग्लेले पूर्वाधार विकासमा लगानी बढाउन र सहुलियतपूर्ण वित्तको व्यवस्था गर्नुपर्नेमा जोड दिए। उनले विभिन्न सदस्य राष्ट्रका अर्थमन्त्रीहरूसँग द्विपक्षीय हित र नेपालको विपद्पछिको पुनर्निर्माणमा सहयोगबारे समेत फलदायी छलफल गरेका छन्।
आर्थिक नियम उल्लंघनको मुद्दामा दोषी ठहरिएपछि म्यानचेस्टर सिटीले प्रिमियर लिगको स्वतन्त्र आयोगको निर्णयलाई चुनौती दिने भएको छ। क्लबले आफू निर्दोष रहेको दाबी गर्दै यस फैसलाबाट आश्चर्यचकित र निराश भएको बताएको छ। पर्याप्त प्रमाण आफूसँग सुरक्षित रहेको भन्दै सिटीले अब न्यायका लागि आधिकारिक रूपमा पुनरावेदन प्रक्रिया अघि बढाउने घोषणा गरेको छ।
सुदूरपश्चिम प्रदेश सरकारले सरकारी अस्पतालको तोकिएको दूरीभित्र निजी स्वास्थ्य संस्था, फार्मेसी र ल्याबहरू सञ्चालन गर्न रोक लगाउने निर्णय गरेको छ। सरकारी स्वास्थ्य सेवालाई पारदर्शी तथा प्रभावकारी बनाउन र बिरामीहरूलाई अनुचित व्यापारिक प्रभावबाट जोगाउन यो कदम चालिएको हो। नयाँ नियम लागू भएसँगै मापदण्ड विपरीत सरकारी अस्पताल वरपर सञ्चालित निजी संस्थाहरूलाई हटाइने वा तोकिएको दूरीमा सारिनेछ।
रसुवा जिल्लामा स्वास्थ्य सेवालाई थप व्यवस्थित र प्रभावकारी बनाउन सरोकारवाला निकायहरूबीच १२ बुँदे महत्त्वपूर्ण निर्णय भएको छ। बैठकले स्वास्थ्य संस्थाहरूको सेवा प्रवाह चुस्त बनाउने, आवश्यक औषधि तथा उपकरणको सहज आपूर्ति सुनिश्चित गर्ने र दुर्गम भेगका नागरिकसम्म गुणस्तरीय उपचार पुर्याउने सहमति गरेको हो। यस रणनीतिक पहलले जिल्लाको समग्र स्वास्थ्य प्रणालीलाई अझ भरपर्दो बनाउने अपेक्षा गरिएको छ।
सङ्घीय संसद्अन्तर्गत चार संसदीय समितिको बैठक आज बस्दैछ। बिहान ८ः३० बजे बस्ने अर्थ समितिमा पुँजी बजारको नियमन र लगानीकर्ताको हित संरक्षणबारे छलफल हुनेछ। बिहान ९ः३० बजे कानुन समितिमा कारागार तथा हिरासतमा रहेका थुनुवाको मानवअधिकारसम्बन्धी प्रतिवेदनमाथि छलफल हुनेछ। त्यस्तै, सुशासन समितिमा जलवायु सम्मेलन र विधायन व्यवस्थापन समितिमा आन्तरिक वायुसेवासम्बन्धी विधेयकमा छलफल गर्ने कार्यसूची छ।
अमेरिकी सर्वोच्च अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनलाई आप्रवासीलाई तेस्रो देशमा निर्वासन गर्ने नीति अस्थायी रूपमा कार्यान्वयन गर्न अनुमति दिएको छ। मंगलबारको आदेशले तल्लो अदालतको रोक हटाए पनि नीतिको वैधानिकताबारे अन्तिम निर्णय गरेको छैन। अदालतले आगामी डिसेम्बरमा मौखिक बहस गर्ने र त्यसपछि अन्तिम फैसला सुनाउने तयारी गरेको छ। यस नीतिमाथि मानवअधिकार उल्लंघन र यातनाको जोखिमका कारण विरोध हुँदै आएको छ।
परराष्ट्रमन्त्री शिशिर खनालले भोटेकोशी बाढीपछिको पुनर्निर्माण र जलवायु संकटसँग जुध्न अन्तर्राष्ट्रिय समुदायले सहयोगमा चासो देखाएको बताएका छन्। संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी भएर बुधबार स्वदेश फर्किएका उनले विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै विभिन्न राष्ट्र तथा निकायले बाढीबाट भएको क्षतिप्रति ऐक्यबद्धता जनाउँदै सहयोगका सम्भावनाबारे चासो व्यक्त गरेको जानकारी दिएका छन्।
अध्यागमन विभागका तत्कालीन कम्प्युटर अपरेटर राजीव महतोले लक्जेम्बर्गका नागरिकको भिसा विवरण अनधिकृत रूपमा परिवर्तन गरी अमेरिकी नागरिकको नाममा जारी गरेको खुलासा भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोग र प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले गरेको छानबिनमा यो बदमासी पुष्टि भएपछि उनीविरुद्ध मुद्दा चलाइएको छ। सरकारी प्रणालीमाथि नै खेलबाड गरेको अभियोगमा उनी कानुनी दायरामा आएका हुन्।
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद जगदीश खरेलले हालैको प्राकृतिक विपद्बाट भएको जनधनको क्षतिप्रति गहिरो चिन्ता व्यक्त गर्दै सरकारलाई संरचनागत सुधारका लागि आग्रह गरेका छन्। मंगलबार प्रतिनिधि सभामा बोल्दै उनले विपद्लाई केवल ‘दैवी प्रकोप’ को संज्ञा दिएर राज्य आफ्नो जिम्मेवारीबाट भाग्न नमिल्ने बताए। उनले प्रभावकारी विपद् व्यवस्थापनका लागि ठोस कदम चाल्न सरकारको ध्यानाकर्षण गराए।
पश्चिम एसियाबाट स्ट्रेट अफ होर्मुज हुँदै हुने तेल निर्यात सेप्टेम्बरमा बढेर दैनिक औसत एक करोड ब्यारेल पुगेको केप्लरको तथ्याङ्कले देखाएको छ। युद्धअघि दैनिक एक करोड ६० लाख ब्यारेल तेल निर्यात हुने गरेकोमा अहिले आपूर्ति बढे पनि सामान्य अवस्थामा फर्किएको छैन। निर्यातमा सुधारले ऊर्जा मूल्यको दबाब कम गर्न सक्ने भए पनि जलमार्गको सुरक्षा जोखिम कायमै रहेको विश्लेषकहरूले बताएका छन्।
सर्वोच्च अदालतले ४० माइक्रोनभन्दा पातलो प्लास्टिक झोला तथा एकपटक प्रयोग हुने प्लास्टिकजन्य सामग्रीमा लगाइएको प्रतिबन्ध देशभर कडाइका साथ कार्यान्वयन गर्न सरकारका नाममा परमादेश जारी गरेको छ। न्यायाधीशद्वय हरिप्रसाद फुयाल र अब्दुल अजीज मुसलमानको इजलासले वातावरण संरक्षणसम्बन्धी रिटमा फैसला गर्दै ११ बुँदे निर्देशन दिएको हो। अदालतले प्लास्टिक पुनःप्राप्ति तथा पुनःचक्रणको लक्ष्य कम्तीमा ५० प्रतिशत पुर्याउनसमेत भनेको छ।
सरकारले स्वास्थ्य सेवा सुधारका लागि अमेरिकी सरकारबाट प्राप्त हुने २०.७ मिलियन अमेरिकी डलर अनुदान स्वीकार गर्ने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले पशु वधशाला तथा मासु जाँच ऐन, २०५५, संघीय निजामती सेवा र अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन, २०७४ संशोधनका विधेयक संघीय संसद्मा पेस गर्न पनि स्वीकृति दिएको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिएका छन्।

