Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: chhotokhabar
सरकारले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई पक्राउ वा नियन्त्रणमा नलिएको दाबी गरेको छ। मंगलबार सरकारका प्रवक्ता सस्मित पोखरेलले अपरिचित समूहबाट फोन र टेक्स्टमार्फत सुरक्षा थ्रेट आएपछि जबरालाई सुरक्षित स्थानमा रेस्क्यू गरिएको बताएका छन्। उनका अनुसार जबराको परिवारले थप सुरक्षाका लागि प्रहरी कार्यालयमा निवेदनसमेत दिएको थियो। जेनजीबाट थ्रेट आएको भन्ने कुरा सरकारबाट नभई सञ्चारमाध्यममा आएको उनले स्पष्ट पारे।
अविरल वर्षाका कारण केही दिनदेखि पूर्णरूपमा अवरुद्ध रहेको कान्ति लोकपथ आजदेखि एकतर्फी रूपमा सञ्चालनमा आएको छ। असोज ८ देखि ११ गतेसम्म परेको भारी वर्षाले सडकका विभिन्न खण्डमा क्षति पुर्याएपछि यातायात सेवा रोकिएको थियो। वर्षाका कारण विभिन्न स्थानमा ठूला पहिरो जाँदा काठमाडौं र हेटौँडा जोड्ने छोटो मार्ग प्रभावित बनेको थियो। सडक खुलेसँगै यात्रुलाई राहत पुगेको छ।
पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ प्रकरणमा राष्ट्रिय मानव अधिकार आयोगले मंगलबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सन्तोष खड्कासँग बयान लिएको छ। जबरालाई पक्राउ गरेपछि अनुगमनका लागि पुगेको आयोगको टोलीलाई भेट्न रोक लगाइएको भन्दै खड्कालाई बयानका लागि बोलाइएको हो। आयोगले प्रहरीबाट संवैधानिक तथा कानुनी अधिकारको सम्मान नभएको दाबी गर्दै आवश्यक कारबाहीको मागसमेत गरेको छ।
गण्डकी प्रदेशका पूर्वमन्त्री राजीव गुरुङ (दीपक मनाङे) नेपाली कांग्रेसको संस्थापन इतर समूहमा प्रवेश गरेका छन्। मंगलबार १५औँ केन्द्रीय महाधिवेशन तयारी समितिका संयोजक डा. शशांक कोइरालाले उनलाई पार्टीमा प्रवेश गराएका हुन्। कोइरालाको सचिवालयका अनुसार मनाङेलाई महाधिवेशनका लागि मनाङ जिल्लाको संयोजकको जिम्मेवारीसमेत दिइएको छ। उनी यसअघि गण्डकी प्रदेशका मन्त्रीसमेत भएका थिए।
मंगलबार सेयर बजार परिसूचक नेप्से ९.६२ अंक घटेर २६०३ अंकमा झरेको छ। कारोबार रकम पनि अघिल्लो दिनको ५ अर्ब ३८ करोडबाट घटेर ४ अर्ब ६५ करोडमा सीमित भएको छ। आज ६९ कम्पनीको मूल्य बढ्दा १९९ कम्पनीको घटेको छ भने १० कम्पनीको मूल्य स्थिर रह्यो। व्यापार समूह सबैभन्दा धेरै १.८७ प्रतिशत घटेको छ।
भारतको ककरोच जनता पार्टी (सीजेपी) का संस्थापक अभिजीत दीपकेले अक्टोबर २ देखि मुम्बईको शिवाजी पार्कबाट ‘जेल भरो आन्दोलन’ सुरु गर्ने घोषणा गरेका छन्। मुम्बई प्रहरीले प्रदर्शनको अनुमति नदिए पनि पूर्वनिर्धारित मितिमै आन्दोलन गर्ने उनले बताएका छन्। मतदाता नामावलीमा भएको भनिएको अनियमितता र निर्वाचन आयोगको कार्यशैलीको विरोधमा आन्दोलन गर्न लागिएको सीजेपीले जनाएको छ।
प्रधानमन्त्री वालेन्द्र शाह र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिदाइ भेट भएको छ। कार्यकाल पूरा गरी भारत फर्किन लागेका राजदूत श्रीवास्तवले प्रधानमन्त्री शाहसँग भेट गरेका हुन्। सो अवसरमा प्रधानमन्त्री शाहले राजदूत श्रीवास्तवलाई बुद्धको मूर्ति उपहारस्वरूप प्रदान गरेका छन्।
नेपाली कांग्रेसले आफ्नो १५औँ महाधिवेशन दुई दिन पछि सारेको छ। केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले मंगलबार विज्ञप्ति जारी गर्दै महाधिवेशन असोज १८ गते दिउँसो २ बजे काठमाडौंको खुलामञ्चमा हुने जानकारी दिएका छन्। यसअघि असोज १६ गते महाधिवेशन गर्ने तय भएको थियो। अविरल वर्षाका कारण केही निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन र महाधिवेशन प्रतिनिधि चयन प्रक्रिया जारी रहेकाले मिति सारिएको हो।
काठमाडौँको मच्छेगाउँमा अवैध रूपमा घरेलु मदिरा बिक्री गरेको आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा मोरङको पथरी शनिश्चरे नगरपालिका–४ घर भई हाल मच्छेगाउँ बस्ने मदन तामाङ र २३ वर्षीय समीर तामाङ रहेका छन्। उनीहरूलाई अवैध मदिराको व्यापार गरिरहेको अवस्थामा फेला पारेपछि प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरेको जानकारी दिएको छ।
सरकारले अध्यादेशबाट निष्क्रिय भएका ८५ ऐनका पुराना व्यवस्था पुनःस्थापित गर्न विधेयक ल्याइएको स्पष्ट पारेको छ। मंगलबार प्रतिनिधिसभामा विधेयकमाथिको सैद्धान्तिक छलफलमा उठेका प्रश्नको जवाफ दिँदै कानुनमन्त्री सोबिता गौतमले अध्यादेश निष्क्रिय भएपछि कानुनी रिक्तता सिर्जना भएकाले विधेयक ल्याउनुपरेको बताएकी छन्। छलफलपछि विधेयक अघि बढाउने प्रस्ताव स्वीकृत भएको छ। सांसदहरूले ७२ घण्टाभित्र संशोधन प्रस्ताव दर्ता गर्न सक्नेछन्।
काठमाडौंको ऐतिहासिक टुँडिखेल अहिले नयाँ स्वरूपमा सजिँदैछ। यस क्षेत्रलाई हराभरा बनाउने र सौन्दर्यीकरण गर्ने कार्य अहिले अन्तिम चरणमा पुगेको छ। सहरको बीच भागमा रहेको यो खुला क्षेत्रमा दुबो रोप्ने र व्यवस्थित गर्ने काम तीव्र पारिएको छ। यो परियोजना सम्पन्न भएपछि टुँडिखेलले सहरको सुन्दरता बढाउनुका साथै सर्वसाधारणलाई स्वच्छ र हरियाली वातावरण प्रदान गर्नेछ।
बाढी र पहिरोका कारण अवरुद्ध बनेको पृथ्वी राजमार्ग एकतर्फी रूपमा सञ्चालनमा आएको छ। सडकको पहिरो पन्छाएपछि काठमाडौँमा लामो समयदेखि थुनिएका सवारी साधनहरू अहिले गन्तव्यतर्फ लाग्न थालेका छन्। नेपाल प्रहरीका अनुसार राजमार्ग आंशिक रूपमा सुचारु भएसँगै सवारीको चाप विस्तारै घट्दै गएको छ। यसले सडकमा अड्किएका यात्रुहरूलाई ठूलो राहत मिलेको छ भने यातायात व्यवस्था सहज बनाउने प्रयास भइरहेको छ।
आठ महिनादेखि जारी अमेरिका र इरानबीचको तनाव कम गर्न मध्यस्थकर्ताहरू सक्रिय भएका छन्। हर्मुज जलघाँटी पुनः सञ्चालनमा ल्याउन र अमेरिकी नाकाबन्दी हटाउन नयाँ योजना अघि सारिएको छ। यस प्रस्तावमा सुरुमा जलमार्ग खोल्ने र त्यसपछि क्रमशः आणविक तथा अन्य प्रतिबन्धहरूका विषयमा सहमति जुटाउने लक्ष्य राखिएको छ, जसले क्षेत्रीय शान्तिमा सघाउ पुर्याउने अपेक्षा गरिएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद निशा डाँगीले भारतले नेपाली जुटजन्य सामग्रीमा लगाएको एन्टी डम्पिङ ड्युटी हटाउन सरकारसँग माग गरेकी छन्। मंगलबार प्रतिनिधि सभामा बोल्दै उनले भारतीय कर नीतिका कारण स्वदेशी जुट उद्योगहरू बन्द हुने अवस्थामा पुगेको बताइन्। संकटमा परेको यो क्षेत्र जोगाउन तत्काल प्रभावकारी कूटनीतिक संवाद अघि बढाउन उनले सरकारको गम्भीर ध्यानाकर्षण गराएकी हुन्।
परराष्ट्रमन्त्री शिशिर खनालले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मा देखिने जातीय पूर्वाग्रह र घृणास्पद अभिव्यक्ति नियन्त्रण गर्न प्रभावकारी नियमन चाहिने बताएका छन्। न्युयोर्कमा आयोजित संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको एक विशेष बैठकलाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका हुन्। डरबन घोषणापत्रको २५औँ वार्षिकोत्सवका अवसरमा मन्त्री खनालले प्रविधिमा आधारित एल्गोरिदमले निम्त्याउने विभेद रोक्न र मानव अधिकारको रक्षा गर्न विश्व समुदायलाई अपिल गरे।
संघीय निजामती ऐन अध्यादेशमार्फत ल्याउन खोजिएको भन्दै प्रतिनिधिसभामा सांसदहरूले आपत्ति जनाएका छन्। मंगलबारको बैठकमा नेकपाका सांसद पार्वती विकले संसद् छल्ने प्रयास नगर्न सरकारलाई आग्रह गर्दै निजामती विधेयक सदनमा ल्याउन माग गरेकी छन्। अर्की सांसद बलावती शर्माले पनि निजामती ऐन र शिक्षा विधेयक सदनमा दर्ता गर्न माग गर्दै ३० वर्षे सेवा अवधि र ५५ वर्षे उमेरहदको चर्चाले कर्मचारीमा त्रास बढाएको बताएकी छन्।
असोज ८ देखि ११ गतेसम्मको अविरल वर्षाका कारण देशभर २७ जनाको मृत्यु भएको छ भने चारजना बेपत्ता भएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार उक्त अवधिमा ५४२ विपद्का घटना भएका छन्। वर्षाले एक हजार ८२ परिवार प्रभावित भएका छन्। बाढीपहिरोले २२७ घर पूर्ण र १४२ घरमा आंशिक क्षति पुर्याएको छ भने १० पुल प्रभावित भएका छन्।
भोटेकोशी बाढी र पछिल्लो बाढीपहिरोले जलविद्युत् आयोजना तथा प्रसारण संरचनामा क्षति पुर्याएपछि आगामी हिउँदमा विद्युत् व्यवस्थापन चुनौतीपूर्ण बन्ने देखिएको छ। प्राधिकरणका अनुसार सुक्खायाममा आन्तरिक उत्पादनबाट १,२१८ मेगावाट उपलब्ध हुने अनुमान छ। माग धान्न भारतबाट विभिन्न माध्यममार्फत १,१५४ मेगावाट विद्युत् आयात गर्ने तयारी गरिएको छ। प्राधिकरणले भने वैकल्पिक व्यवस्थामार्फत लोडसेडिङ हुन नदिने जनाएको छ।
राष्ट्रिय मानव अधिकार आयोगले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सन्तोष खड्कालाई बयानका लागि बोलाएको छ। पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई पक्राउ गरेपछि अनुगमनमा पुगेको आयोगको टोलीलाई भेट्न रोक लगाइएको विषयमा सोधपुछ गर्न मंगलबार बिहान साढे ११ बजे बोलाइएको हो। आयोगले यसअघि विज्ञप्ति जारी गर्दै आफ्नो संवैधानिक तथा कानुनी अधिकारअनुसार अनुगमन गर्न नदिइएको घटनाप्रति आपत्ति जनाएको थियो।
साताको पहिलो कारोबार दिन सोमबार नेप्से परिसूचक १६.४७ अंकले घटेर २,६१३.३३ विन्दुमा झरेको छ। बजार ०.६२ प्रतिशतले घटे पनि कारोबार रकम भने ५ अर्ब ३८ करोड रुपैयाँ नाघेको छ। व्यापारबाहेक सबै उपसूचक घटेका छन्। निर्जीवन बीमा समूहमा सबैभन्दा बढी १.२० प्रतिशत गिरावट आएको छ। हाथवे इन्भेस्टमेन्टको मूल्य सर्वाधिक १०.५८ प्रतिशतले घटेको छ।

